काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू अहिले अधिक तरलताको समस्याबाट गुज्रिरहेका छन् । निक्षेप बढिरहेको छ तर कर्जाको माग बढ्न सकेको छैन । यही कारण बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएकोे छ । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण जारी गरी बजारबाट तरलता खिच्दै आएको छ ।
बैंकिङ प्रणालीमा तरलता बढ्नुको प्रमुख कारण बढ्दो निक्षेप र कर्जाको माग न्यून हुनु हो । यही कारण अहिले बैंक तथा वित्तीय संस्थाहरू दबाबमा छन् । चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा लिँदै एक सय १० खर्ब रुपैयाँभन्दा बढी पैसा राखेका छन् । यस्तै निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले १० खर्ब २२ अर्ब ३० करोड रुपैयाँ प्रणालीबाट तानेको छ ।
अर्कोतर्फ राष्ट्र बैंकले ब्याज खानकै लागि ३४ अर्ब रुपैयाँभन्दा बढी पैसा बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १२ पटक गरी कुल ३४ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ संस्थागत निक्षेप राखेको छ । यसमध्ये अहिले चार अर्ब ३७ करोड रुपैयाँ निक्षेप राख्ने प्रक्रियामा छ ।
राष्ट्र बैंकले हिजो बिहीबार तीन सय ६६ दिने मुद्दती निक्षेपमा चार अर्ब ३७ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी राख्न दुईवटा सूचना निकालेको छ । निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्थाले आफूले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी यही मसिर २३ गतेसम्म बोलकबोल पेस गर्नुपर्नेछ । यी दुईवटै निक्षेप २०८२ पुस दुई गते परिपक्व हुनेछन् । यसअघि पनि राष्ट्र बैंकले विसं २०८१ पुस एकदेखि विसं २०८२ पुस एक गतेसम्मको लागि अर्थात् तीन सय ६६ दिने मुद्दती निक्षेपको रूपमा चार अर्ब चार करोड ७९ लाख रुपैयाँ लगानी गर्नको लागि पनि प्रस्ताव आह्वान गरिसकेको छ । मंसिर १६ देखि कार्यान्वयनमा आउने गरी राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँबराबरको रकम पनि लगानी गरिसकेको छ । यो रकमको परिपक्व हुने अवधि तीन सय ६६ दिन अर्थात् विसं २०८२ मंसिर १५ गते तोकिएको छ ।
चालू आर्थिक वर्ष सुरु भएदेखि यता राष्ट्र बैंकले विसं २०८२ मंसिर २० गते परिपक्व हुनेगरी तीन सय ६६ दिने अवधिको एक अर्ब २७ करोड, २०८२ पुस एक गते परिपक्व हुनेगरी तीन सय ९३ दिने अवधिको एक अर्ब ८३ करोड २० लाख, २०८२ मंसिर एक गते परिपक्व हुनेगरी तीन सय ६६ दिने अवधिको एक अर्ब २७ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप लगानी गरिसकेको छ । यसबाहेक २०८२ वैशाख १५ गते परिपक्व हुनेगरी एक सय ८१ दिने अवधिको दुई अर्ब १९ करोड, २०८२ असोज चार गते परिपक्व हुनेगरी एक सय ८१ दिने अवधिको ८७ करोड, २०८२ असोज चार गते परिपक्व हुनेगरी तीन सय ६६ दिने अवधिको एक अर्ब ७५ करोड, २०८१ चैत्र नौ गते परिपक्व हुनेगरी दुई सय १५ दिने अवधिको एक अर्ब १० करोड र २०८२ साउन तीन गते परिपक्व हुनेगरी तीन सय ६६ दिने अवधिको ४५ करोड ४५ करोड रुपैयाँ पनि राष्ट्र बैंकले संस्थागत निक्षेपको रूपमा बैंक तथा फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा राखेको छ ।