भद्रपुर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।
कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० दशमलव ६२ रुपैयाँ तोकेको छ । कम्पनीले तोकेको मूल्य बजारभाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष ७५ हजार चार सय ५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व पाँच दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष आठ हजार सात सय ९१ मेट्रिक टन धान उत्पादन बढेको उनको भनाइ छ ।