काठमाडौं । गोल्छा ग्रुप र ग्लोकल प्रालिको सहकार्यमा पुल्चोकमा स्थापित इम्बार्क कलेजले औपचारिकरूपमा आफ्नो यात्रा सुरु गरेको छ । यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ । यस कलेजले शिक्षा मन्त्रालयवाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो । कलेजले विश्ववरीयतामा शीर्ष १५ प्रतिशतमा ¥याङ्क भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बीएससी) (चार वर्ष) र एमबीए (दुई वर्ष)जस्ता विषयहरू सञ्चालन गरेको छ । यी विषयहरूको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि सुरु भइसकेको जनाइएको छ । कलेजका अध्यक्ष शेखर गोल्छाले यो कलेजलाई उद्यमशीलता विकासमा केन्द्रित भएर सञ्चालन गर्ने बताए ।
प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने जनाइएको छ । त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ । उद्योगको आवश्यकताअनुसार व्यावहारिक र प्राविधिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूमा व्यावसायिक सोच र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कलेजले राखेको छ । व्यावहारिक ज्ञान र सीपलाई प्राथमिकतामा राखेर तयार पारिएको कलेजको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशील संस्कारमा परिचित गराउने कलेजका सञ्चालकहरू बताउँछन् ।
उक्त पाठ्यक्रमले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक परियोजनामा सहभागी गराउने उद्देश्य राखेको छ । क्लास डिस्कसन, प्रेजेन्टेसन र टिमवर्कले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास पनि गरिएको छ । साथै, प्रगतिशील सुधारका लागि साप्ताहिक मूल्याङ्कन प्रणाली समेत लागू गरिएको छ । त्यसैगरी समुदायसँगको सम्बन्ध बलियो बनाउन विद्यार्थीलाई सामाजिक जिम्मेवारीबारे सचेत बनाउँदै जीवन उपयोगी सिप विकासमा सहयोग पु¥याउने लक्ष्य पनि कलेजले लिएको छ ।