काठमाडौं, असार २९
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनका कारण चीनबाट आएका अर्बौँ रुपैयाँ मूल्यबराबरको सामान तातोपानी र केरुङ नाकामा अलपत्र परेको छ । चीनबाट आएको सामानमा कोरोना सुरक्षा ग्यारेन्टी नभएका कारण कतिपय नाकाका स्थानीय सरकारले पनि सामान ल्याउन अवरोध गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
व्यवसायीहरुका अनुसार सामान काठमाडौं ल्याउन नसकेपछि रसुवाको केरुङ नाका पुलमा अलपत्र अवस्थामा छ । सुरक्षाको सामान्य प्रक्रिया अपनाएर सामान ल्याउनका लागि दबाब पनि परेको छ । तर, पनि काम भएको छैन । करिब एक हजार मालवाहक गाडीमा नेपाल आउनलागेको सामान अलपत्र परेको व्यवसायीहरुले बताएका छन् । अर्बौँ रुपैयाँबराबरको सामान नेपाल ल्याउने व्यवस्था मिलाउँदा सरकारले राजस्वसमेत संकलन गर्नसक्ने अवस्था भए पनि सरकारी निकायले यसमा चासो दिएका छैनन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रतिनिधिहरुले पनि पटक–पटक यसबारे आवश्यक निर्णय लिन सरकारलाई अनुरोध गरेका छन् । संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर अलपत्र रहेका सामान काठमाडौं ल्याउन पहल गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।
उता हिमालय सीमापार वाणिज्य संघले पनि संघीय सरकारका विभिन्न निकायमा दबाब दिएको छ । ‘परराष्ट्रलगायतका मन्त्रालयमै पुगेर सामान ल्याउनका पहल गर्न हामीले अनुरोध गरेका छौँ तर अझै काम भएको छैन’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘यस विषयमा सरकार संवेदनशील हुनु आवश्यक छ ।’ यता तातोपानी नाकामा पनि धेरै सामान अलपत्र परेका छन् । लकडाउनका बेला केही अत्यावश्यक सामान आए पनि त्यसपछि रोकिएको सामान काठमाडौं ल्याउन नसकेपछि व्यवसायीहरु समस्यामा परेका छन् ।