काठमाडौं । उद्योगीले सिमेन्ट, छडसहितका निर्माण सामग्रीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगी तथा व्यवसायी र निर्माण व्यसायीलाई छलफलमा बोलाएको छ ।
विभागका अधिकारीहरुले दुवै पक्षसँग आइतबार छलफल गर्ने भएका छन् । निर्माण सिजनमा सिमेन्ट, छडसहितको निर्माण सामग्रीको मूल्य बढाएर अनावश्यक दुःख दिएको भन्दै निर्माण व्यवसायीले मूल्य समायोजन गर्नुपर्ने बताएका छन् । महासंघका महासचिव रोशन दाहालका अनुसार सिमेन्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा कार्टेलिङ गरी सिमेन्टमा मूल्यवृद्धि गरिएको छ । उनले निर्माणकार्य हुने अहिलेकै सिजनमा सीमित सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकोले भुक्तानी अभावलगयात कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको बताए ।
एक महिनामै पटक–पटक गरी सिमेन्टमा प्रतिबोरा एक सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि गरिएको छ महासंघको ठहर छ । खुला अर्थतन्त्रको नीतिविपरीत सिमेन्टमा गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघले जनाएको छ । मूल्यवृद्धि खारेज नभए देशैभर निर्माणकार्य ठप्प पार्ने महासंघले चेतावनी दिएको छ ।
दशैँअघि ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट)को मूल्य प्रतिबोरा छ सय रुपैयाँदेखि छ सय २५ रुपैयाँ र पीपीसी (पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट) को पाँच सय रुपैयाँदेखि पाँच सय २५ रुपैयाँ थियो । प्रतिबोरा ओपीसी सात सय रुपैयाँदेखि सात सय ५० रुपैयाँ र पीपीसी छ सय रुपैयाँदेखि छ सय ५० रुपैयाँ पुगेको छ । निर्माण व्यवसायीहरुले ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पीपीसी (पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट) गरी दुई प्रकारका सिमेन्ट प्रयोग गर्छन् । छिटो सुक्नेका लागि ओपीसी र लामो समयसम्म राख्नको लागि पीपीसी प्रयोग गरिन्छ ।
छडमा प्रतिकिलो १५ रुपैयाँले वृद्धि गरिएको निर्माण व्यवसायीको भनाइ रहेको छ । दुई साताअघि ९६/९७ रुपैयाँ प्रतिकिलो रहेको छडको भाउ हाल एक सय १० रुपैयाँ पुराइएको छ । इँटा, गिटी र बालुवाको भाउ भने स्थिर रहेको छ । हाल इँटा प्रतिगोटा १६/१७ रुपैयाँ र गिटी र बालुवाकोे प्रतिटिपर २६/२७ हजार रुपैयाँ छ ।
हिउँद याममा सरकारले पुँजीगत खर्च गर्न थाल्छ भने व्यक्तिहरुले पनि घर तथा स–साना भवन निर्माणको कार्य अघि बढाउने हुदाँ अहिले आएर निर्माणजन्य सामग्रीको मूल्य बढाउन उचित नहुने निर्माण व्यवासायीहरु बताउँछन् ।
महासंघले निर्माणकार्य ठप्प पार्ने भनेसँगै विभागले उद्योगी र निर्माण व्यवसायीसँग छलफल गरी अघि बढ्ने तयारी गरेको हो । विभागका महानिर्देशक राजन पौडेलले दुवै पक्षको कुरा सुनेर कुनै पनि पक्षलाई मारमा नपार्ने उद्देश्यसहित अघि बढ्नका लागि छलफलको लागि बोलाइएको बताए । सिमेन्टमा मूल्यवृद्धि हुँदा पनि उद्योगीहरु घाटामा रहेको नेपाल सिमेन्ट उत्पादन संघका अधिकारी बताउँछन् । उद्योगीरूले घाटा पूर्ति गर्न सिमेन्टको मूल्य समायोजन गर्न खोजिएको उनीहरुको भनाइ छ । पहिलो सिमेन्टको मूल्य प्रतिबोरा एक हजार रुपैयाँसम्म रहेकोमा माग नभएसँगै मूल्य घट्दै आएको उद्योगीहरुको भनाइ छ । सरकारले निर्माण व्यवसायी संघको भुक्तानी रोक्दा निर्माणकार्य अघि बढ्न नसक्दा सिमेन्ट छड उद्योगहरु प्रभावित बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने निर्माण व्यवसायीको भुक्तानी चाँडोभन्दा चाँडो गर्ने बताउँदै आएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आइतबारदेखि निर्माण व्यवसायीको भुक्तानी थालिने बताएका छन् ।