काठमाडौं । लघुवित्त संस्थाको रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले निर्धनको नाममा गरिबहरुको उठीवास लगाउने गरेको आरोप लागेको छ । सुरुवाती समयमा व्यावसायिक तथा सीपमूलक भन्दै विभिन्न किसिमको तालिम दिने, तालिमपछि ऋण दिने र चर्को ब्याज असुल्ने गरेको आरोप लागेको निर्धनले अहिले भने तिनै ग्राहकहरुको धितो लिलामीको लागि दैनिकजसो सयौँको संख्यामा कर्जा चुक्ता गर्न आउन भन्दै पत्रपत्रिकाहरुमा ऋणीको नाम सार्वजनिक गर्ने गरेको छ ।
निर्धन उत्थान लघुवित्तको यही कार्यले गर्दा लघुवित्तको नाममा गरिबहरुको उठीवास लगाउने गरेको आरोपको पुष्टि भएको आफूलाई लघुवित्तपीडित बताउने एक व्यक्तिले भने । निर्धनले विगतमा आत्मनिर्भरता र स्वरोजगारको लागि भन्दै एउटै क्षेत्रमा धेरै व्यक्तिहरुलाई साबुन बनाउने, धुप बनाउने, व्यावसायिक च्याउ खेती गर्नेलगायतका तालिम दिने र तिनै व्यक्तिलाई तालिमपछि बजारको अध्ययन अनुसन्धानविना कर्जा दिनेगरेको थियो । एउटै क्षेत्रमा धेरै व्यक्तिलाई एउटै किसिमको तालिम र एकै प्रकारको व्यावसायिक कर्जा दिएर संस्थाले ग्राहकहरुलाई अघोषितरुपमा फसाँउँदै आएको थियो ।
एउटै प्रकृतिको व्यवसायको लागि स्थानीयस्तरमा बजार नहुने र उत्पादन गरेको वस्तु बिक्री नहुँदा ऋण लिएका ग्राहक डुब्ने तर लघुवित्त मोटाउँदै जानेगरी विपन्न वर्गलाई कर्जा प्रवाह गर्दै आएको थियो । तर, अहिले तिनै कर्जावाला ग्राहकहरुको धितो लिलाम गर्नको लागि संंस्थाले दैनिकजसो सयौँको संख्यामा धितो लिलामीको सूचनाहरु प्रकाशन गर्नेगरेको छ ।
संस्थाका उच्च अधिकारीहरुले गरेको विगतको गलत अभ्यास जसरी पनि ग्राहकलाई कर्जा लिन उक्साउने र जबरजस्ती साँवा तथा ब्याज असुल्ने परिपाटीको मारमा अहिले निर्धनका ग्राहक मात्र परेका छैनन्, यसको असर स्वयम् संस्थालाई पनि परेको छ । पछिल्लो दुई आर्थिक वर्षदेखि लघुवित्त निरन्तर खुद नोक्सानीमा गएको छ भने खराब कर्जा बढेर १० प्रतिशतभन्दा माथि पुगेको छ । निर्धनका ग्राहकहरु भन्छन्, ‘पहिला ऋण लिन उक्साइयो, विभिन्न किसिमका आर्थिक उपार्जनको नाममा व्यावसायिक प्रलोभन देखाएर फकाएर ऋण दिलाइयो । अहिले अप्ठ्यारोमा पारेर घरवास नै उठाउन खोज्दैछ ।’
घरवास उठाउन खोजेको ऋणीको आरोपलाई संस्थाले विभिन्न माध्यमद्वारा एकैदिन ऋणीहरुको नाममा कर्जा चुक्ता गर्न आउन र धितो लिलामीको लागि सार्वजनिक गरेको सूचनाले पनि पुष्टि हुन्छ । पछिल्लो केही महिनादेखि संस्थाले लगातार दैनिकजसो सयभन्दा बढी ग्राहकहरुको नाममा सार्वजनिक सूचना जारी गर्दै आएको छ । संस्थाले ऋणीको नाममा यसरी सार्वजनिक सूचना जारी गर्दै घरवासबिहीन बनाउन खोज्नुको पछाडि संस्थाले झण्डै दुई वर्षअघिसम्म दैनिकजसो सञ्चालन गर्ने विभिन्न सीपमूलक कार्यक्रम र विपन्न वर्गका जनताहरुलाई नाममात्रको सीपमूलक तालिम दिएर ऋण लिन बाध्य पारिनु प्रमुख कारण रहेको ऋणीहरु बताउँछन् ।
संस्थाले केही वर्षअघिसम्म पनि हामीजस्ता विपन्न वर्गका जनताहरुको उत्थानको लागि भन्दै नाममात्रको सीपमूलक तालिम दियो । केही साथीहरुलाई व्यावसायिक च्याउखेती तालिम दियो भने केही साथीहरुलाई सिलाईबुनाई, मैनबत्ती बनाउने, धुप बनाउने, उन्नत जातको गाईबाख्रा पालना, व्यावसायिक तरकारी तथा फलफूल खेतीलगायतका नाममात्रका सीपमूलक तालिम दिइयो । ‘न हामीमा बजारको पहुँच थियो, न कुनै व्यावसायिक ज्ञान नै । संस्थाले देखाएको प्रलोभनकै आधारमा हामीले ऋण लियौँ र जसतसो व्यवसाय चलायौँ, तर व्यवसाय संस्थाले फकाएजस्तो गरी चलेन, उक्त संस्थाले लिने चर्को ब्याजले हामी थलियौँ । अहिले संस्थाले हाम्रो घरवास उठाउन खोज्दै छ, दैनिक हामीजस्ता हुँदाखाने वर्गहरुको नाममा ऋण चुक्ता गर्न र भएको जायजेथा पनि लिलाम गर्न भन्दै दैनिकजसो सयौँको संख्यामा सार्वजनिक सूचनाहरु जारी गरिरहेको छ । न्याय खोज्न हामीकहाँ जाऔँ ।’, नाम उल्लेख नगर्ने सर्तमा ऋणीहरुले बताएका छन् ।
कस्तो छ निर्धनको वित्तीय अवस्था ?
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख ७९ हजार सात सय ५० रुपैयाँ छ । सो अवधिसम्म लघुवित्तले २० अर्ब ३७ करोड ३५ लाख ७७ हजार पाँच सय ९३ रुपैयाँ निक्षेप सङ्कलन गरी २३ अर्ब ५४ करोड ३९ लाख ९७ हजार सात सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट ५६ करोड २२ लाख ३७ हजार दुई सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्था एक करोड ९५ लाख ५८ हजार चार सय ४४ रुपैयाँ खुद नोक्सानीमा छ । लघुवित्तको निष्क्रिय कर्जा १० दशमलव १६ प्रतिशत अर्थात् दुई अर्ब ३९ करोड २० लाख ७० हजार एक सय ४४ रुपैयाँ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा संंस्थाले २० अर्ब १८ करोड ४६ लाख १३ हजार ५७ रुपैयाँ निक्षेप सङ्कलन गरी २३ अर्ब ९३ करोड ५६ लाख ३२ हजार एक सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस्तै ४३ करोड ७९ हजार आठ सय २४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष निष्क्रिय कर्जा १२ दशमलव ३५ प्रतिशत अर्थात् दुई अर्ब ९५ करोड ६० लाख ५० हजार पाँच सय ६७ रुपैयाँ थियो ।
अधिकृत पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको संस्थामा अहिले कुल ग्राहक संख्या झण्डै चार लाखको हाराहारीमा छ । त्यसमध्ये कर्जावाला ग्राहकको संख्या एक लाख ८२ हजार छ सय १४ छ ।
संस्था घाटामा, व्यवस्थापन खर्च एक अर्ब
केही वर्षदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था निरन्तर घाटामा गएको छ । संस्था यसरी घाटामा जानुको प्रमुख कारण निक्षेप तथा कर्जा दुवैमा अपेक्षाकृत वृद्धि हुन नसक्नु, विगतमा प्रवाह भएको कर्जाबाट नियमितरुपमा साँवा ब्याज असुली हुन नसक्दा खराब कर्जा निरन्तर बढ्नु र व्यवस्थापन खर्च उच्चरुपमा बढ्नु प्रमुख कारण देखिएको छ ।
देशभर एक सय ८५ वटा शाखाहरु रहेको लघुवित्तसँग कुल कर्मचारी संख्या एक हजार एक सय ११ छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार लघुवित्तले कार्यालय व्यवस्थापनमा मात्रै ९२ करोढ १७ लाख ९७ हजार चार सय ३५ रुपैयाँ खर्च गरेको देखिएको छ । जसमध्ये कर्मचारीको तलब भत्तालगायतका विभिन्न शीर्षकमा ८४ करोड ७८ लाख ७९ हजार एक सय ७० रुपैयाँ खर्च भएको छ भने कार्यालय सञ्चालन शीर्षकमा सात करोड ३९ लाख १८ हजार तीन सय पाँच रुपैयाँ खर्च भएको छ ।