नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई)ले ब्याजदर स्थिर राखेको छ । मौद्रिक नीति समितिको बैठकले ११औँ पटक ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेपछि आरबीआईले छ दशमलव पाँच प्रतिशतमा स्थिर राखेको हो ।
पछिल्लो पटक सन् २०२३ फेब्रुअरीमा ब्याजदर शून्य दशमलव २५ प्रतिशत बढाएर साढे छ प्रतिशत पुर्याइएको थियो ।
गत नोभेम्बरमा खाद्यान्नको मूल्य १९ महिनायताकै उच्च विन्दुमा पुगेको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)को तथ्याङ्कअनुसार नोमेम्बर २०२४मा वनस्पति तेलको मूल्यमा भएको वृद्धिका कारण यो वृद्धि भएको हो ।
भारतमा खुद्रा सामानको मुद्रास्फीति मौद्रिक नीति निर्माताहरूको चार प्रतिशतको लक्ष्यभन्दा माथि रहेको छ र अक्टोबरमा १४ महिनाको उच्च छ दशमलव २१ प्रतिशतमा पुगेको छ । आरबीआईका गभर्नर शतीकान्त दासले बैंकको मौद्रिक नीति समितिले ‘आर्थिक वृद्धिको गति सुस्त भएको’ कुरालाई ध्यानमा राखेको तर भारतको दृष्टिकोण ‘लचिलो’ रहेको बताए ।
दासले भने, ‘प्रतिकूल मौसमी घटनाहरूको बढ्दो घटना, बढ्दो भूराजनीतिक अनिश्चितता र वित्तीय बजारको उतारचढावले मुद्रास्फीतिमा उल्टो जोखिम निम्त्याएको छ ।’ भारतीय रिजर्ब बैंक (आरबीआई)ले केन्द्रीय बैंकमा निक्षेप गर्न ऋणदाताहरूको न्यूनतम नगद मौज्दात अनुपात साढे चार प्रतिशतबाट घटाएर चार प्रतिशतमा झारेको छ ।
आर्थिक वृद्धिमा मन्दीको सङ्केत देखिए पनि केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको हो । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर सेप्टेम्बर त्रैमासिकमा पाँच दशमलव चार प्रतिशत छ, जुन सुस्त उत्पादन क्षेत्र र सुस्त सहरी उपभोगका कारण प्रभावित भएको छ ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मार्च ३१ सम्ममा आर्थिक वृद्धिदर छ दशमलव छ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । आरबीआईले मे २०२२ देखि फेब्रुअरी २०२३ को बीचमा ब्याजदरमा साढे दुई प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।