काठमाण्डौ : सिन्धुपाल्चोक जिल्लामा जन्म‌ लिएका विलक्षण प्रतिभाका धनी डा. विनोद दङ्गाल सानै उमेरदेखि हुने बिरुवाको चिल्लो पात भने झैँ थिए। नीस्ट कलेजबाट बाह्र कक्षाको अध्ययन पश्चात् डा. दङ्गालले चीनको थ्री गर्जेज युनिभर्सिटीबाट एमबिबिएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण गरे। नेपाल फिर्ता भएर काठमाडौँ मोडल अस्पतालमा इन्टर्नसिप गर्दा नै उनले गहन अध्ययन र अनुसन्धानका विषयहरुको प्रस्तुती गरेर आफ्ना गुरुहरुलाई आफ्नो क्षमता प्रस्तुत गरिसकेका थिए। त्यसैक्रममा उनले दोलखाको गौरीशंकर अस्पतालमा काम गर्ने अवसर पाए र आफ्नो जीवनको अमुल्य समय त्यहीँका रोगी, दु:खीहरुमा समर्पण गर्ने प्रण गरे। तत् पश्चात त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालबाट आफूले रोजे अनुसारको विषय लिएर एम्डिजिपी उत्तिर्ण गरे। उनलाई सर्जरीमा विशेष चासो थियो र ग्रामीण सर्जरीमा विशेष पोख्त हुँदै गए, किनभने उनलाई स्पष्ट थाहा थियो कि ग्रामीण सर्जरी नगर्ने हो भने धेरै बिरामीलाई शहरका महँगा अस्पतालहरूमा रिफर गर्नुपर्ने हुन्थ्यो। उनले यसै क्रममा दोलखाको चरिकोट अस्पताल, पशुपति चौलागाईं मेमोरियल अस्पताल हुँदै दोलखाकै च्छो रोल्पा अस्पतालको नेतृत्व सम्हाले। बिरामीहरुलाई सहज रुपमा उपचार गर्न सकियोस् भनेर अल्ट्रासाउन्ड, इन्डोस्कोपी , डायबेटिज केयर, एबोर्सन केयर जस्ता विशेष तालिमहरु समेत लिए। उनले अन्तर्राष्ट्रिय स्तरका न्याय हेल्थ, हेल्थ पार्टनरसिप नेपाल, मेडिसिन सान्स फ्रोन्टियर्स, युनाइटेड नेशन जस्ता संस्थाहरुसंग समेत सहकार्य गरेर दोलखा जिल्लामा रोगी र गरीबको सेवामा दशकै बिताए। सो क्रममा उनको उपचार सैली, विज्ञता, सेवा र विरामी प्रतिको समर्पण दोलखा जिल्लामा मात्र सीमित नभई वरिपरिका जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप आदि जिल्लाका विरामी समेत आकर्षित भए । यसै क्रममा उनले देशकै राष्ट्रपतिबाट प्रवल जनसेवा श्री चतुर्थ, प्रधानमन्त्रीबाट हिरोइक हेल्थ केयर वर्कर , कोभिड वारियर, एशिया हेल्थ केयर एण्ड सोसियल केयर , वार डक्टर हिरो आदि विशिष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरु समेत प्राप्त गरे। उनी यतिमै रोकिएनन् र अझै अध्ययन गरेर आफ्नो सेवाको दायरा अझै फराकिलो पार्न चाहन्थे। यसै क्रममा भारतको पारुल विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक हेल्थ गरे त्यो पनि गोल्ड मेडलिष्ट भएर। यसरी देशकै उत्कृष्ट जिपी सर्जनको रुपमा ख्याति प्राप्त स्थापित डा विनोद दङ्गाल हाल भक्तपुर सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा जोडिएर दूरदराजदेखि शहरी रोगीहरूको समेत अझ उत्कृष्ट, अझ परिष्कृत र अझ आधुनिक रुपमा उपचार गर्ने प्रण गर्दछन् र यस क्रममा वहाँको जीवनमा सहयोग गर्नुहुने हरेक सहयोगी आत्माहरुलाई ह्रिदयदेखि नै धन्यवाद दिन चाहन्छन् । डा. इवामुरा मेमोरियल अस्पताल र त्यसलाई हाल व्यवस्थापन गर्दै आएको अरनिको व्यवस्थापन समुहले समेत डा. दङ्गाल जस्तो महान व्यक्तित्वको आगमनले आफ्नो अस्पतालको साख अझ बढेको र आगामी दिनहरुमा बिरामीहरुको उपचार अझ गुणस्तरीय र विश्वस्तरीय बनाउंदै लग्ने योजना बताउँछन ।