काठमाडौं । दुई वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा पुराना दलका विकल्पका रूपमा प्रकट भएका धरान नगरपालिकाका मेयर हर्क साम्पाङ त्यतिबेलैदेखि चर्चित रहँँदै आएका थिए । पछिल्लो समय त यो नगरलाई आफ्नो अलग्गै राज्यका रूपमा चिनाउन खोजे र उल्टापाल्टा उटपट्याङयुक्त कामबाट उब्जिने गरेका यस्ता चर्चामा अलिक बढी नै उचाइलिइरहेका छन् ।
प्रचलित कानुनलाई नमान्ने भन्ने हाक्काहाक्की घोषणा, धरान मेरो अलग्गै राज्य हो र म नै यसको राजा हुँ भन्ने दाबीहरूले उनलाई यसरूपमा परिचित गराउन थालेका हुन् ।
उनले गरेको विवादास्पद कामहरूको फेहरिस्त पत्रपत्रिकामा आउन थालेपछि पछिल्लो समय एउटा पत्रकार सम्मेलन गर्न खोजे । त्यसका लागि उनले गरेका निम्तो नै त्यस्तो उटपट्याङको उदाहरण बन्नपुग्यो । सामाजिक सञ्जालमा हालिएको त्यो निम्ता नै साम्पाङको धरान राज्य कसरी चलिरहेको छ भन्ने एउटा जानकारी हुनसक्छ ।
धराने मेयर साम्पाङले गएको बिहीबार पत्रकार सम्मेलन डाक्दा आधा घण्टाका बीचमा दुईवटा निम्ताका स्टाटस पठाएका थिए । यो बुधबार दिउँसोको कुरा हो । पहिलो निम्तापत्र अर्थात् स्टाटस यस्तो थियो :
‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनू । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस् चोर–फटाहा !’
त्यही दिन पहिलो स्टाटस लखेको केही बेरपछि उनले अर्को स्टाटस लेखे जुन यस्तो थियो :
‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनुहोला ! नत्र तँ ......को यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ! जनक ऋषि भन्ने पनि आउनू ! निक्कै फुरफुर गरिस् तिमेरूले, ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’
मेयरले नाम उल्लेख गरेका यी दुई जनामा एक जनक ऋषि भन्ने पत्रकार त्यहाँका पत्रकार महासंघका सभापति हुन् भने दोस्रा दाहाल केन्द्रीय पार्षद् हुन् ।
तिनलाई आफूले गर्नलागेको पत्रकार सम्मेलनमा प्रयोग भएका उल्लिखित भाषा र शब्दहरू बढी रूपमा गालीगलौजमा प्रयोग हुने गर्छन । ‘तँ .....को यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा ! तिमेरूले, ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’ भन्ने व्यहोरा आफैँमा गाली मात्र नभएर भौतिक आक्रमणको धम्की पनि हुन सक्छ ।
यहाँ नाम उल्लेख भएका पत्रकारले केही पहिले साम्पाङको धरान नगरमा चलिरहेको शासनका बारे एउटा अनुसन्धानमूलक रिपोर्ट गरेका थिए । उल्लिखित व्यहोरा त्यही सन्दर्भको हो । अर्का पत्रकारले भने त्यो रिपोर्ट सेयर गरेबापतको थियो ।
त्यो रिपोर्टका बारे सम्भवतः केही प्रस्ट पार्न होला गएको बिहीबार १० बजे धरान–१८ को ग्रीन टीमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यो कार्यक्रममा अरुभन्दा उनी त्यस्तो रिपोर्ट गर्ने पत्रकारको विशेष उपस्थिति रहोस् भन्ने चाहन्थे होलान् । नामै किटानी भएको निम्तापत्रले त्यही बुझाउँछ । त्यसमा उनले जानेसम्मको नरम भाषामा उपस्थितिका लागि अनुरोध गरेका हुनपर्ने मानौँ । किनभने निम्ता गर्ने मान्छे नरम नै हुन्छ । यी मेयर नरम हुँदा जसमा यस्ता शब्द प्रयोग भए– ‘... या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’
यी मेयरले आयोजना गरको भोलिपल्टको त्यो पत्रकार सम्मेलन पनि विचित्रकै थियो । पहिले नै उनले आफूविरुद्धका रिपोर्टलाई झ्याँस भन्ने संज्ञा दिए र त्यो पूरा पनि नपढेको भनेर जनाए ।
यसको अर्थ हो रिपोर्ट नै नपढीकन मेयर यसरी जङ्गिएका रहेछन् ।
यी मेयरका सबभन्दा पछिल्लो पटक गरिएका उल्टापाल्टा वा उटपट््याङयुक्त काममा पर्छ आफ्नो बेलायत भ्रमणका सन्दर्भमा तोकिएका कार्यवाहक । नगर सञ्चालनसम्बन्धी ऐनमा मेयर नभएको बेला उपमेयर कार्यबाहक हुने व्यवस्था छ । तर, यी मेयरले भने नगरको कानुनविपरीत हुनेगरी आफूनिकट वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका थिए ।
पत्रकार सम्मेलनमा त्यस्तो किन भयो भन्ने प्रशन उठ्यो । त्यसको जवाफमा उनले जस्तो उत्तर दिए त्यो आफैँ उटपट्याङयुक्त हुनुपर्छ । यसमा उनैले प्रश्न गरे –
‘उपमेयरले शुभयात्रा भन्यो ? उपमेयरले शुभयात्रासम्म भन्यो ?’
पत्रकारहरूले सोधे –‘ऐनले त उपमेयरलाई जिम्मेवारी दिनुपर्छ भनेर लेखेको छ नि ?’
मेयरको जवाफ थियो– ‘त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ, जनताद्वारा निर्वाचित मान्छे हुँ म, हामी बनाउँछौँ, त्यस्ता नाथे ऐन । ऐनमाथि बन्ने ऐन, धरानेलाई समोसा मन परेको छ, उता मम खुवाएर हुन्छ ? जसले जेसुकै भनोस् त्यस्ता ऐन हामी मान्दैनौँ ।’
यो पत्रकार सम्मेलनको अर्को विषय थियो कानुनी प्रक्रिया पूरा नगरी धरानको वडा नंं २० र १३ मा श्रम संस्कृति पार्क निर्माण गरिएको प्रसङ्ग । मेयरले जुन रिपोर्टको विरोध गरेका थिए त्यसमा भनिएको छ ‘न यो पार्क बनाउँदा नगर कार्यपालिकामा छलफल भएको छ, न त वातावरणीय प्रभाव मूल्याङ्कन नै गरिएको छ । पार्क बनाइएको स्थान पनि जलाधार र वन क्षेत्रमा पर्ने भएकाले संरचना निर्माण गर्न मिल्दैन थियो । कानुनविपरीत बनाइएको यो संरचनाका बारे उनको जवाफ पनि त्यस्तै आयोजस्तो कार्यबाहकबारे । उनले भने,
‘कानुन त मैले लेख्छु, त्यो वन कहाँ छ ? धरानभित्र छैन ? धरानको प्रमुख हैन म ? के समन्वय गर्नुपर्ने हो ? के त्यो वन कार्यालय नियमबमोजिम चलेको छ ? ‘पानीको बिल तिरेको छ कि छैन ? विचार गर्दैछु । धारा काट्दििएँ भने के गर्छ ? यस्तो स्रोत व्यक्तिलाई चमत्कारी सत्ता भन्छु, हर्क साम्पाङले जत्तिको यो देशमा कुनै पालिकाले विकास गर्न सकेको छ ?’
यसबाहेक त्यसदिनको पत्रकार सम्मेलनमा यी मेयर र पत्राकरबीच भएका प्रश्नोत्तरका केही नमूना यस्ता छन् –
प्रश्न : हर्क साम्पाङको स्वभाव अलिकति भद्र हुनुप¥यो, मै हुँ भन्ने खाल्को देखियो भन्छन् नि !
जवाफ : त्यो परिमार्जन गर्न मिल्दैन । मैले बारम्बार भन्ने गर्छु नि नुनलाई ढिक्कामा चाख्दा पनि नुनिलो नै हुन्छ, पानी लगाएर चाखे पनि नुनिलो हुन्छ, पाउडर पिसेर मसिनो धुलो बनाए पनि यस्तै हो । जे गरे पनि त्यही हुन्छ ।
प्रश्न : यसले गर्दा जसले तपाईँप्रति जो आस्था विश्वास गर्छन्, उनीहरू रुष्ट हुन सक्छन् नि !
जवाफ : ठीक छ, रुस्टिँदा के भो त मलाई । उनीहरूलाई कस्तो मेयर चाहिएको त ? भ्रष्टाचार गर्ने मेयर चाहिए छान्छन् त ।
हिजो मैले भोट माग्दा पनि त्यसैगरी मागेको हो । भोट दिए दिनु नदिए नदिनु, मेरो कुराचाहिँ सुनाउँछु भनेको थिएँ । कान बन्द गर्छ भने पनि म सुनाइराख्छु । मेरो वरिपरि हिँडिराख्नुपर्छ भन्ने छैन भनेको थिएँ । म यस्तै हो । म चेन्ज हुँदिनँ । नेपालीलाई म इमान्दार बनाउँछु, साँचो सत्य बोल्ने । इमान्दार र मिहिनेती बनाउँछु । त्यसका लागि म चेन्ज भएँ भने खत्तम भइहाल्यो नि !