दमौली। जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् ।
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ । अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आवद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले ताईन् । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठूलो जनसंख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ । सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आवद्ध भएकालाई प्रथम सेवा विन्दु छ वटा रहेका छन् ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेको उनले जानकारी दिईन् । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्दछ । परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको सात सय रुपैयाँका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिइन् । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।