दमौली (तनहुँ) । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । उनले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गरे ।
अहिलेको आवश्यकता सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने रहेको बताउदै उपमहासचिव पुनले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताए । “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भने ।
उपमहासचिव पुनले भने, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ।”