सुबास बस्नेत
दोलखा, असार २९
कोरोनाका कारण दोलखाको पर्यटन क्षेत्रमा देखिएको संकटले अधिकांश होटल व्यवसायीहरुको व्यवसाय धरापमा परेको छ । लामो समयको लकडाउन र सरकारले अर्को वैकल्पिक माध्यम खोज्न ढिलाइ गर्दा होटल तथा पर्यटन व्यवसायीहरु मर्कामा परेका हुन् ।
पर्यटन क्षेत्रलाई नै जोड दिई होटल सञ्चालन गरिरहेका जिल्लाका होटल व्यवसायीहरु संकटमा परेका हुन् । आम्दानीको मुख्य स्रोत नै होटल व्यवसाय भएका व्यवसायीहरु लामो समयदेखिको बन्दले व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको सदरमुकाम चरीकोटमा रहेको सगरमाथा होटलका सञ्चालक सुन्दर दाहालले बताए । उनले भने, ‘चार महिनादेखि होटल व्यवसाय बन्द छ । घरभाडा बुझाउन र बैंकको किस्ता तिर्न नै मुस्किल छ ।’ लकाउनले होटल बन्द हुँदा घरभाडा तिर्न समस्या भएको र घरभेटीले दैनिक घर भाडा मागेर दबाब दिने गरेकाले आफूले तीन महिनाको भाडा तिरेर होटल खाली गरिदिएको उनले बताए ।
सदरमुकाम चरीकोटका अन्य केही होटल पनि लकडाउनकै कारण भाडा तिर्न नसकेर बन्द भएका छन् । उता जिल्लाको प्रमुख पर्यटकीय स्थल कालिञ्चोकका सयौं होटल व्यवसायी पनि संकटमा परेका छन् । खचाखच पर्यटकले भरिभराउ हुने कालिञ्चोकका होटल रेस्टुरेन्ट कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द भएका छन् । लकडाउन खुकुलो बनाएपछि खुलेका फाट्टफुट्ट होटलमा पनि ग्राहक आउन छाडेको चरीकोटका क्रिस्टल होटलका सञ्चालक कुमार श्रेष्ठले बताए । धेरै होटल व्यवसाय रहेको जिरी नगरपालिकाको अवस्था पनि उस्तै रहेको छ । होटल क्षेत्रलाई मुख्य पेसाको रूपमा लिएका व्यवसायीहरुलाई बैंक, सहकारी तथा घरभाडा तिर्न आर्थिक संकट हुने गरेको छ ।