काठमाडौं ।चीन सर्मथित धर्मगुरु पन्चेन लामा आर्थात् ग्यात्सेन नोर्बु नेपाल आउने भएका छन् । नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन उनी नेपाल आउने भएका छन् ।
भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उनलाइ उत्तराधिकारी घोषणा नगरेपनि उनी चीन सरकारको समर्थनमा नेपाल आउने भएका छन् ।यही डिसेम्बर १२ (बिहीबार) देखि १५ (आइतबार) सम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने भएका छन्।
समाचार स्रोतका अनुसार चिनियाँ धर्मगुरु पन्चेन लामा नेपाल आउन लागेको विषयलाई सरकारले गोप्य राखेको छ। पन्चेन लामालाई चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले धर्मगुरु नियुक्त गरेका थिए। उनी नेपाल आउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै सहमति भइसकेको बुझिएको छ । ‘यो विषय पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई पहिला नै जानकारी भैसकेको बुझिएको छ । उनी चिनियाँ चार्टर्ड विमानमा नेपाल आउने भएका छन् ।
नोर्बुको नेपाल भ्रमण चीनले नेपाल र भारतका बौद्धमार्गीबीच स्थापित गर्ने उद्देश्यले गराउन चाहेको बुझिएको छ।चीनले जति मेहनत, प्रचारप्रसार र दबाब दिए पनि तिब्बतीहरूले नोर्बुलाई लामा स्वीकार्न सकिरहेका छैनन्। सन् २०२३ मा चाम्दो भ्रमणका क्रममा नोर्बुको आशीर्वाद कार्यक्रममा सहभागी हुन तिब्बतीहरूलाई प्रतिव्यक्ति १०० युआन तिर्न सिसिपीले उर्दी जारी गरेको र त्यसले सक्कली तिब्बती समुदायमा चरम निराशा छाएको बताइन्छ। बेइजिङले दलाई लामा र वास्तविक पन्चेन लामाका तस्बिरहरूको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउँदै आएको बताइन्छ।