काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरू स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । यो सुविधाबाट अब युपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १५ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।