काठमाडौं । प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको ९८ करोड बराबरको आईपीओ निष्काशन गर्ने कार्य अगाडि बढेको छ । प्रभु ग्रुप्स एन्ड कम्पनीजअन्तर्गतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेन्टमेन्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबीच बुधबार सेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्नेगरी सम्झौता सम्पन्न भएको छ । यस कम्पनीमा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्स एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्स एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।
कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्छ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो । यस कम्पनीले हाइड्रोपावरको विभिन्न संरचनामा चाहिने मसिनहरू आयात गरी भण्डारण गर्ने र जलविद्युत् कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मा यसै आवमा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फूलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आइसकेको भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।