विराटनगर । उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयवीच व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । स्टार्टअप सम्झौतामा संगठनका स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका फेकल्टी अफ म्यानेजमेन्टका डिन डा सन्देशदास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमको माध्यमबाट युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण र ईको सिस्टम विकास गर्ने गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सरकारले यस आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न बजेट समेत विनियोजन गरेको छ । कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्ने कुुरा बताइएको छ । यो निजी क्षेत्रका लागि यो गौरवको विषय भएको कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले वताए । उनले उद्यमशीलता विकासका सन्दर्भमा निजी क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरूलाई उत्साहित वनाएको उल्लेख गरे । उद्योग संगठन र विश्वविद्यालयबीच भएको सम्झौताअनुरूप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा सञ्चालन गरिने छ ।
संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले दिए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमलाई थप संस्थागत गरिँदै लगिने पनि स्पष्ट पारे पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न सम्वर्द्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै, केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकताअनुसार आगामी दिनमा परिमार्जन र परिष्कृत गरी थप प्रभावकारी बनाउने बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशीलता प्रवद्र्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको जानकारी दिए । कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेसन कार्यक्रमलाई नै थप व्यवस्थित गरी अघि बढाउन लागेको उनले बताए ।
विश्वविद्यालयका फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदास श्रेष्ठले कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्बन्धन प्राप्त कलेजबाट ३० वटा आईडीया छनौट गर्ने बताए । एक आईडियामा तीन जना रहने गरी ९० जना विद्यार्थीहरूलाई छनौट गरिने उनको भनाइ छ । यस्तै, दोस्रो चरणमा ९० जनावाट ३० जना छनौट गरी सात महिनासम्म सम्वद्र्धन केन्द्रको माध्यमबाट स्टार्टअप ईको सिस्टमका सेवाहरू उपलब्ध गराइने छ ।