काठमाडौं । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको बिहीबार उद्घाटन गरेका छन् ।
कलभर्टको उद्घाटन भएसँगै सो खण्डमा यातायातको आवागमन सुचारु गरिएको हो । ११ मिटर लामो उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौंको व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो । व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । काठमाडौं व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यसलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो ।
प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरी अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो । मन्त्री दाहालको निर्देशनपश्चात पुनः साउन २८ गते विज्ञहरूले निरीक्षण गरी भोलिपल्ट नै लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डीबी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर, ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसकेपछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कातिक ३ गतेबाट काम सुरु भएको थियो ।
राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । सोही कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केही ढिलाइ भएको थियो । तर कातिक एक गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दशैँ, पुरातत्व विभागसँग सहमति लिनुपर्ने प्रक्रियालगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दाअघि नै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जानकारी दिए ।