काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ४५ औँ बैठकको निर्णयबाट प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि गौतमलाई नियुक्त गरिएको हो ।
विगत तीन दशकभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । उनको कार्यानुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कमा विश्वास गर्छन् । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिसँगै कम्पनी थप उचाइमा पुग्ने विश्वास गरेको जानकारी कम्पनीले दिएको छ ।