काठमाडौं । नेपालका वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नासआइटी) र प्रविधि पत्रकार मञ्च (टीजेएफ)को सहकार्य तथा लगपोइन्टको व्यवस्थापनमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले यस्तो बताएका हुन् ।
प्रशिक्षण कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोख्रेलले प्रविधिको विकासले जनजीवन सहज भए पनि पर्याप्तरूपमा सतर्कता नअपनाउँदा साइबर आक्रमणमा नेपालको स्थिति जोखिमपूर्ण रहेको बताए । उनले नेपालमा कुन क्षेत्रमा कस्ता साइबर आक्रमण हुन सक्छन् ? कसरी जोगिने भन्नेबारे जानकारी गराए ।
नेपालमा साइबर सुरक्षाका बारेमा जानकारी कम भएको तथा विभिन्न माध्यमबाट स्क्याम भइरहेको बताए । उनले साइबर सुरक्षाका आधारभूत तत्वका बारेमा प्रकाश पार्दै आफू कसरी सुरक्षित रहने र अन्यलाई पनि सुरक्षित रहन कसरी जानकारी दिने भन्ने जानकारी दिए ।
प्रशिक्षणमा लगपोइन्टका डाइरेक्टर अफ प्रोडक्ट म्यानेजमेन्ट वासुदेव रावतले साइबर सुरक्षामा गोपनियता, वस्तुनिष्ठता र उपलब्धताजस्ता विषयमा जानकारी दिए । उनले साइबर आक्रमण र त्यसपछिका चुनौती र त्यसको व्यवस्थापनका बारेमा जानकारी गराए ।
उनले साइबर आक्रमणका कसरी र किन हुन्छ ? अन्य मुलुकबाट के र कसरी सिक्ने ? कुन–कुन देशमा कस्ता क्षेत्र जोखिममा छन् भन्नेबारे जानकारी दिए । त्यस्तै, बिजसर्भ आईटीका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रभात पोख्रेलले नेपालमा साइबर सुरक्षाको अवस्थाका बारेमा जानकारी दिए । नेपालमा साइबर आक्रमणको दर बढ्दो भएको भन्दै सुरक्षाका विषयमा विद्यालयस्तरबाटै सचेतना कार्यक्रम सञ्चालन हुनुपर्ने बताए ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, इ–कमर्स क्षेत्र फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निशाना बन्दा जोखिम र चुनौती पनि थपिँदै गएको बताए । आक्रमणका घटना अधिकांश विकसित मुलुकमा हुने गरेको र त्यसको कारण डेटामा पहुँच पु¥याउनु रहेको बताए । ती देशमा महत्वपूर्ण सूचना र तथ्याङ्क सुरक्षा निकाय, राजनीतिज्ञ, पत्रकारहरूसँग हुने भएकाले उनीहरू केन्द्रमा रहेको जानकारी दिए ।
विश्वमा सैन्य, वित्त क्षेत्र र व्यापारिक क्षेत्रमा बढी आक्रमण हुने गरेको तर नेपालमा बैंकिङ क्षेत्र र इ–कमर्स बढी जोखिममा रहेको बताए । नास आईटीका महासचिव दिपेन चापागाईंले नेपालमा पछिल्लो प्रविधि र साइबर जोखिमका विज्ञ नेपालमा खासै नभएको तथा नेपाल र नेपालीलाई हुन सक्ने जोखिम आफ्नो पनि भएको बताए ।
लगपोइन्टका निर्देशक प्रकाश थापाले नेपालमा विगत १५ वर्षदेखि प्रविधिको क्षेत्रमा काम गरिरहेको तथा आफ्नो मुख्य बजार युरोप र अमेरिकामा भएकाले त्यहाँका साइबर सुरक्षाका बारेमा भएको अनुभवबारे आवश्यक परेको खण्डमा सरकार र सरोकारवाला निकायसँग समन्वय गर्दै जोखिम न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, नास आईटीका कोषाध्यक्ष अभय पौडेलले प्रविधिको विकाससँगै सुरक्षा चुनौती पनि थपिएकाले प्रयोगकर्तामा सही जानकारी र नीति निर्मातासँग सहकार्य हुनुपर्ने बताए ।