काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि जित्न सफल भएका छन् ।
शुक्रबार ६–अन्डर ६२ को सनादार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर दुई सय ५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर दुई सय ५८ को रकर्ड तोडेका हुन् । उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर दुई सय ५९ को स्कोरमा दोस्रो भए ।
उनले प्रोतर्फ भने पहिलो स्थान प्राप्त गर्दा एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले अन्तिम दिन ३–अन्डर ५ को स्कोर निकाल्दै समग्रमा ८–अन्डर दुई सय ६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे । एमेच्योर राहुल विके समग्रमा ६–अन्डर दुई सय ६६ सहित चौथो भए ।
उनले अन्तिम दिन ४–अन्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । नेपाल नम्बर एक प्रो भुवनले ४–अन्डर ६४ सहित समग्रमा ४–अन्डर दुई सय ६८ सहित पाँचौँ हुँदै नगद ६८ हजार जिते ।
विष्णु प्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३–अन्डर दुई सय ६९ को स्कोरमा संयुक्तरूपमा छैटौँ स्थान बाँडे । विष्णुले ३–ओभर ७१ मा खेल सकाए । पहिलो दिनका लिडर जयरामले आज ६–अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औँ देखि १८औँ होलसम्म लगातार ६ बर्डी प्रहार गरे । उनीहरू दुवैले ५१ हजार पाँच सय प्राप्त गरे । समग्रमा इभन–पार ७२ सहित सञ्जय लामा आठौँ, २–ओभर २७४ सहित दीपक मगर नवौँ र ३–ओभर २७५ सहित तोरण विक्रम शाही क्रमश आठौँ, नवौँ र दशौँ भए ।
सञ्जयले आज ४–अन्डर ६४, दीपकले ३–ओभर ७१ र तोरणले ३–अन्डर ६५ बनाए । उनीहरूले क्रमश ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे । अन्तिम दिन शुक्रबार खेलको सुरुवात गर्दा सद्भाव निरजभन्दा एक स्ट्रोकले पछि थिए । फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो ।
दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौँ होलमा चार बर्डी नै प्रहार गरे । ११औँ होल टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बर्डी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सद्भावले एक स्ट्रोकको अग्रता बनाए । सद्भावले यसपछि १३औँ होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे ।
यही अग्रतालाई निरन्तरता दिँदै सद्भावले ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते । निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । दिनेशले फ्रन्ट नाइन २–अन्डर ३४ मा खेले । पहिलो, चौथो, पाँचौँ र आठौँ होलमा एक–एक सट बचाए । सातौँ होलमा डबल बोगी खेपे । यसपछि १४औँ होलको बोगीविरुद्ध १०औँ र १३औँ होल बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । चार दिने प्रतियोगितामा कुल सात लाख ३५ हजार नगद पुरस्कार राशि रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे ।