काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएको छ । गत शुक्रबार देशभर भएको मतदानमा मधेश प्रदेशको मत गन्न बाँकी हुँदा नै अध्यक्षमा शर्माको जित निश्चित भएको हो । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार एक सय ४४ मतान्तरले पछि पारेकी छन् । जबकि मधेश प्रदेशमा कुल सात सय ७२ मत मात्रै खसेको छ । यो सबै मत उनको मतान्तरभन्दा कम भएकोले उनी विजयी हुने निश्चित भएको हो ।
वि. सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको रूपमा स्थापना भएको यो संगठनले पहिलो पटक महिला नेतृत्व पाएको हो । महासंघको यो निर्वाचनमा शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त उम्मेदवार रहेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट नेपाल प्रेस युनियनबाट बागी उम्मेदवार हुन् भने उनलाई नेकपा माओवादी निकट प्रेस सेन्टरलगायतले समर्थन गरेको थियो । अध्यक्षबाहेकका अन्य अधिकांश पदाधिकारीमा पनि शर्माकै प्यानलका उम्मेदवारहरू अगाडि देखिएका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सोही प्यानलका दीपक आचार्यको अग्रता रहेको छ । महासचिवमा रामप्रसाद दाहालले चुनाव जित्ने लगभग पक्कापक्की रहेको छ । मधेश प्रदेशको मत गणनापछि अन्तिम मतपरिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।