काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा शुक्रबार सम्पन्न १२ औँ सभाको उद्घाटन गर्दै संघीय सांसद भगवती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरूलाई वित्तीय सेवा पुर्याइरहेकोमा प्रशंसा गरिन् ।
ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपैयाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसँग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेकीे चौधरीले गरिब तथा विपन्न समुदायको बचत तथा वाणिज्य बैंकबाट प्राप्त कर्जा परिचालन गरेर लघुवित्त संस्थाहरूले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने समेत जिकिर गरिन् । ‘गाउँघरमा छरिएर रहेका गरिब विपन्न नागरिकको बचतलाई एकीकृत गर्दै वाणिज्य बैंकहरूबाट कर्जा लिएर लघुवित्त संस्थाहरूले कर्जा प्रवाह गरेका हुन्छन् । समुदायकै पुँजी भएकाले कसैले ऋण मिनाहा हुन्छ भन्दैमा ऋण मिनाहा हुँदैन ।’ लघुवित्त वित्तीय संस्थाले मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आर्थिक सशक्तीकरणकी अभियान्ता समेत रहेकी सांसद चौधरीले भनिन् ।
साधारणसभाका विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरूको जीवनस्तर उकास्ने र युवाहरूलाई रोजगारी दिइरहेको बताउँदै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । लघुवित्त संस्थाले महिलालाई आर्थिक सशक्तीकरणमा जोडेको बताउँदै उनले लघुवित्त क्षेत्रका सबल पक्षहरूको चर्चा गरिन् । सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सेयरधनीहरूलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन समेत गरेको छ । संस्थाको बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी एक अर्ब १९ करोड ५९ लाख ५२ हजार आठ सय ७९ रुपैंयाँ हुनेछ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ । सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका तीन सय ८२ स्थानीय तहअन्तर्गत एक सय ५९ शाखा कार्यालयमार्फत दुई लाख ८४ हजार नौ सय ६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी गराइएको थियो । साथै, यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।
साधारणसभामा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताए । वित्तीय संस्थाले सेयर सदस्यहरूलाई तुलनात्मकरूपमा सन्तोषजनक लाभांश वितरण गरेको बताउँदै उनले साधारणसभामा प्रस्तुत सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।