कोलम्बो । श्रीलंकाले सन् १९९० देखि सन् २०२३ सम्म पाँच दशमलव तीन अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका एक सय ७९ आर्थिकरूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ ।
एसियाली विकास बैंक (एडीबी)को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत् र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ । कुल एक सय ६२ आयोजना विद्युत्सँग सम्बन्धित थिए भने पाँचवटा बन्दरगाहमा केन्द्रित थिए, जुन निजी क्षेत्रको सहभागिताका लागि प्रमुख क्षेत्र बनेका छन् ।
एडीबीका अनुसार, पीपीपीले बन्दरगाह सञ्चालनको गुणस्तर र दक्षता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । पीपीपीमार्फत विकसित टर्मिनलहरूले अहिले देशको पोर्टको लगभग ७० प्रतिशत कार्य गरिरहेको छ ।
श्रीलंकाको लगभग २५ प्रतिशत बिजुली हाल पीपीपी परियोजनाहरूमार्फत उत्पादन गरिन्छ । एडीबीले श्रीलंकामा आर्थिकरूपमा बन्द भएका पीपीपी परियोजनाहरूमध्ये अधिकांश सक्रिय रहेको र तीनवटा मात्र परियोजनाहरू रद्द भएको देखाएको छ ।