सियोल । दक्षिण कोरियाको संसद्ले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् ।
डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।
राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसद्बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा ¥याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन् ।
कूल तीन सय संसद् सदस्य रहेको कोरियाली संसद्मा दुई सय चार सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेको र आठ मत बदर भएको छ ।
महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ । अदालतलाई युनको भविष्यबारे फैसला गर्न एक सय ८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति हुनेछन् ।
प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित भएसँगै पत्रकारसँगको कुराकानीमा भने, ‘दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।’
महाभियोग पारित हुन दुई सय मत आवश्यक थियो र विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी)का कम्तीमा आठ जना सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो ।
‘आजको महाभियोग जनताको ठूलो जित हो’, विपक्षी डेमोक्र्याटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भने । उनले अबको एक सय ८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्मसम्मानलाई प्रकट गर्ने बताए । रासस/एएफपी