काठमाडौं, असार ३०
नेपाल बंगलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकका अनुसार यसअन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शांगे शेर्पाको दुर्घटनामा परी असामहिक निधन भएकोमा सो खातामा रहेको बीमा सुविधाअन्तर्गत दुर्घटना बीमाबापतको प्राप्त रकम १५ लाख रूपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले हस्तान्तरण गरेका हुुन् । सोमबार बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न खालका सुविधाहरू दिँदै आएको परिप्रेक्ष्यमा यसप्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरूमा पनि बैंकले आफ्ना ग्राहकहरूको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले हाल ९७ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।