मुग्लिन (चितवन) । मनकामना केबलकारको सेवा मर्मत सम्भारका लागि दुई दिन बन्द हुने भएको छ । पुस १ र २ गते सेवा बन्द गरिने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
नायब प्रबन्धक शेरचनले टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने बताए । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
नेपालमा पहिलो पटक २०५५ साल मङ्सिर ८ गतेदेखि गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।