काठमाडौं । वाणिज्य बैंकहरूसँग कुल ५९ खर्ब १० अर्ब निक्षेप छ । यस्तै ४७ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । यस आधारमा बैंकहरूसँग थप छ खर्बभन्दा बढी लगानीयोग्य पैसा छ । बैंकहरूको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७८ दशमलव ३२ प्रतिशत छ ।
निक्षेप बढ्दै गएकोे तर कर्जा विस्तार लक्ष्यअनुसार नहुँदा बैंकहरू दबाबमा छन् । क्षमता भए पनि कर्जा प्रवाह हुनसक्ने अवस्था नरहेको बैंकर बताउँछन् । बजारमा नयाँ कर्जाको माग न्यून भएका कारण बैंकहरूमा निक्षेप अर्थात् लगानीयोग्य रकम थुप्रिएको छ । यही कारण ब्याज लागत कम गर्न बैंकहरूले एक वर्षयता ब्याजदर घटाउँदै आएका छन् । अहिले निक्षेपको औसत ब्याजदर छ दशमलव शून्य दुई प्रतिशतमा झरेको छ । कर्जाको ब्याजदर पनि एकल विन्दुमा झरिसकेको छ ।
प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले प्रत्येक हप्ता निक्षेप सङ्कलन गर्दै आएको छ । यसबाहेक बैंकहरूले स्थायी निक्षेप सुविधा पनि लिँदै आएका छन् ।
पुस महिनाका लागि तीन वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने तीनवटाले बढाएका छन् । बाँकी १४ बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पुस महिनाका लागि नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैैंकले ब्याजदर घटाएका छन् । एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् ।
नबिल बैंकले पुस महिनाका लागि पाँच दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा पनि नबिलले सोही ब्याज दिएको थियो । मंसिरमा छ दशमलव ७९ प्रतिशत ब्याज दिएकोे एनआईसी एसियाले पुसका लागि शून्य दशमलव १९ प्रतिशत विन्दु ब्याज घटाएर छ दशमलव ६० प्रतिशत दिने भएको छ । माछापुच्छे« बैंकले मंसिरमा छ प्रतिशत दिएकोमा पुसका लागि पनि सोही ब्याजदर कायम गरेको छ । लक्ष्मी सनराइजले पाँच दशमलव ५० र एनएमबी बैंकले मंसिरको लागि पाँच दशमलव ५७ प्रतिशत ब्याज तोकेकोमा पुसको लागि लक्ष्मीले सोही ब्याजदर कायम गरेको छ भने एनएमबीले बढाएर छ दशमलव छ प्रतिशत तोकेको छ ।
ग्लोबल आईएमई र सिटिजन्स बैंकले मंसिर महिनामा कायम रहेको ब्याजलाई पुस महिनाको लागि पनि निरन्तरता दिएका छन् । यी दुई बैंकको ब्याजदर क्रमशः पाँच दशमलव ७५ र पाँच दशमलव ६५ प्रतिशत छ । कृषि विकास बैंकले मंसिरमा पाँच दशमलव ५३ प्रतिशत ब्याज दिएकोमा पुसमा बढाएर पाँच दशमलव ५७ प्रतिशत पुर्याएको छ ।
कुमारी बैंकले मंसिरमा पाँच दशमलव ९१ प्रतिशत ब्याज दिएकोमा पुसमा पनि सोही ब्याजदर यथावत् राखेको छ । प्राइम कमर्सियल बैंकले मंसिरमा पाँच दशमलव ७५ प्रतिशत दिएकोमा पुसमा बढाएर छ दशमलव २५ प्रतिशत कायम गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले भने पुस महिनाको लागि पनि मंसिरमा कायम रहेको ब्याजलाई नै निरन्तरता दिएका छन् । यी बैंकहरूले पुसको लागि क्रमशः छ दशमलव पाँच, छ दशमलव २५, छ, छ र छ प्रतिशत ब्याज तोकेका छन् । सानिमा बैंकले भने मंसिरमा छ दशमलव १५ प्रतिशत ब्याज तोकेकोमा पुसको लागि ब्याज घटाएर छ दशमलव शून्य पाँच प्रतिशतमा झारेको छ । यसैगरी नेपाल बैंकले पनि मंसिर महिनाको लागि पाँच दशमलव ९५ प्रतिशत ब्याज दिएकोमा पुसको लागि ब्याज घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको छ । प्रभु, स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले भने मंसिरमा कायम रहेको ब्याजलाई पुसको लागि पनि निरन्तरता दिएका छन् । यी बैंकहरूको ब्याजदर क्रमशः छ दशमलव एक, पाँच दशमलव ७५ प्रतिशत र छ प्रतिशत तोकिएका छन् ।