वीरगञ्ज (पर्सा) । भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा सशस्त्र प्रहरी बल नेपाल, पर्साले नियन्त्रणमा लिँदै आइरहेको छ । पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट सशस्त्र प्रहरीले करिब ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले जानकारी दिए । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट भित्राइएको १३ लाख ३६ हजार नौ सय ३५ मूल्य पर्ने किनारा, कस्मेटिक्स, मोटरपार्ट्स, मोबाइल एसेसोरिज र कपडालगायतका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ना५३प ९३०६ नम्बरको करिब दुई लाख मूल्य पर्ने मोटरसाइकल समेत बुझाएको छ ।
वीरगञ्ज महानगर–६ स्थित लाठगलीबाट प्रवेज अक्तरको स्टोरको गोदामबाट भन्सार छली गरेर भण्डारण गरिराखेको ३० लाख ४९ हजार मूल्य पर्ने कपडा सशस्त्र प्रहरी बल पर्सा र वीरगञ्ज भन्सार कार्यालयबाट शनिबार खटिएको टोलीले बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई दाखिला गरेको छ ।
सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएका १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको थियो । चालु आवको चार महिनाको अवधिमा १२ करोड ५३ लाख ८८ हजार नौ सय ३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हाडवेयर, मोटर पाटर्स, खाद्यान्न पदार्थ र किराना सामान सशस्त्र प्रहरी बल पर्साले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यस्तै सोही अवधिमा बिलबिजक नभएका दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्य पर्ने सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ ।