काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाइफ ज्याकेट सहयोग गरेको छ । कम्पनीले आफ्नो स्थापनाको आठौँ वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको हो । शुक्रबार फेवा ताल परिसरमा एक कार्यक्रम गरीे आठ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।
ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले संयुक्तरूपमा फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । ‘हामी सरकारले गर्नुपर्ने काम यस्ता संस्थाबाट सही ठाउँमा सही निर्णय गर्नु आफैँमा सह्रानिय कार्य भएको बताए । यस कार्यबाट अन्य संस्था तथा निकायले पनि सिक्न र अनुकरण गर्नु उपयुक्त हुन्छ’ उनले भने ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए । ‘लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो, अनि लाइफ ज्याकेटको काम पनि मानिसको जीवनको रक्षा गर्नु नै हो । त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनका यस्ता ढुकढुक हुने पलहरूलाई ढुक्क बनाउन सधैँ तत्पर रहन्छ, उनले भने । फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले भने, ‘फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जीर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हाम्रो एकै बचनलाई स्वीकार गरी यो लेवलको सहयोग गर्नु आफैँमा गर्वको विषय हो ।’ फेवातालमा डुङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवनरक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुन सक्ने कुनै पनि दुर्घटनालाई न्यूनीकरण गर्ने जीकिर गरे । यसलाई मध्यनजर गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुणस्तरीय लाइफ ज्याकेट प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले लाइफ ज्याकेटजस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।