ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जबरजस्ती बेपत्ता परिएको घटनामा संलग्न रहेको आरोप लागेको छ । अन्तरिम सरकारको छानबिन आयोगले आफ्नो एक प्रतिवेदनमा पूर्वप्रधानमन्त्री हसिना बलपूर्वक बेपत्ताका घटनामा संलग्न रहेको बताएको छ ।
आयोगको प्रतिवेदनका अनुसार करिब ३५ सय यस्ता जबरजस्ती बेपत्ता घटनामा हसिनाको संलग्नता रहेको छ । बंगलादेशको प्रधानमन्त्रीको कार्यालयले पनि शनिबार यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । हसिनाबाहेक उनका रक्षा सल्लाहकार तारिक अहमद सिद्दिक, दूरसञ्चारका पूर्वनिर्देशक जियाउल अहसान र कैयौँ प्रहरी अधिकारीहरू पनि उपस्थित थिए ।
हसिनाले देश छोडेपछि यी सबै अधिकारी फरार भएका थिए । तीमध्ये धेरै विदेशमा छन् । यो प्रतिवेदन पाँच सदस्यीय छानबिन आयोगले तयार पारेको हो । प्रतिवेदनलाई ‘अनफोल्डिङ द ट्रुथ’ नाम दिइएको छ ।
छानबिन आयोगले आफ्नो प्रतिवेदनमा हसिना सरकारले ¥यापिड एक्सन बटालियन (आरएबी) प्रयोग गरी जनतालाई यातना दिएको जनाएको छ । हसिनामाथि आरएबी र अन्य एजेन्सीहरू संगठितरूपमा मानिसहरूलाई जबरजस्ती उठाएर हिरासतमा राखेको आरोप छ ।