काठमाडौं, असार ३०
२०७औँ भानु जयन्तीको अवसरमा जिल्लाको भिमेश्वर नगरपालिकाले दोलखा साहित्य यात्रा नामक पुस्तक सार्वजनिक गरेको छ । भीमेश्वर नगरपालिकाको सहयोगमा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले ४९ जना कविका रचना समावेश गरेर उक्त पुस्तक प्रकाशन गरेको हो ।
दोलखा सदरमुकाम चरीकोटमा आयोजित एक समारोहका बीच भीमेश्वर नगरपालिकाका मेयर भरत केसी र प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले पुस्तक विमोचन गरे । पुस्तक विमोचन गर्दै मेयर केसीले भीमेश्वर नगरपालिकाले अन्य क्षेत्रजस्तै लेख रचना, कला साहित्यलाई पनि छुट्टै महत्व दिएको बताए । प्रकाशित पुस्तकले समाज रुपान्तरणका लागि सहयोग पुग्ने बताउँदै उनले साहित्यलाई प्रकाशन गर्न नगरपालिकाले आर्थिक सहयोग गर्ने बताए ।
त्यसैगरी वार्षिक रूपमा दोलखा साहित्य यात्रा पुस्तकलाई प्रकाशन गर्दै जाने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नगरपालिकाले साहित्य पुस्तक प्रकाशन गरी नेपाली साहित्य विकासमा महत्वपूर्ण सहयोग पु-याएको जानकारी दिए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर खड्काले दोलखाली साहित्य यात्रा प्रकाशनको सुरुवात भएको र यसले अब निरन्तरता पाउँने बताए । कार्यक्रममा १५ जना कविहरुले कविता वाचन गरेर सुनाएका थिए ।