कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिएका छन् ।
प्रहरीले लामिछानेविरुद्ध साढे २७ करोड रुपैयाँबराबरको बिगो दाबी माग गर्दै प्रतिवेदन बुझाएको हो । लामिछाने र उनकी श्रीमती निकिता पौडेलको खातामा देखिएको रकममध्ये साढे २७ करोड रुपैयाँको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरणमा माग दाबी गरेको हो । प्रहरीले लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
प्रतिवेदनमा प्रहरीले सहकारी ठगीमा ६५ जनालाई कसुरदार बनाएको छ । नाम ठेगाना नखुलेका १४ जना छन् । प्रहरीले गोखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसहित अन्य ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ । तीमध्ये ३७ जना फरार रहेका छन् । सहकारी ठगीमा उनीहरुबाट कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय १४ रुपैयाँ बिगो माग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
अब सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरेर कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।सहकारी ठगीसम्बन्धी मुद्दामा प्रहरीले लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट प्रक्राउ गरी पोखरा पु¥याएकोे थियो ।लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । ती सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगेर अपचलन गर्न लामिछानेको संलग्नता देखिएको अरोप छ ।