काठमाडौं । पाँचौँ नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाँचौँ नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा यही पुस ५ देखि ७ गतेसम्म राजधानीको भृकुटीमण्डप सो प्रदर्शनी हुन लागेको हो ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने जनाइएको छ । प्रदर्शनीले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम् प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्नेछ । प्रदर्शनीमा देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधिहरूले आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर पाउने आयोजकको विश्वास छ ।
साथै, प्रदर्शनीमार्फत विभिन्न विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरू खुल्ने तथा नवीनतम प्रविधिसँग साक्षात्कार गराउन सहयोग मिल्ने आयोजकको अपेक्षा छ । प्रदर्शनीको सहआयोजक नेपाल मुद्रण उद्योग महासंघ रहेको छ भने सहयोगी संस्थाको रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेको छ । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने छ ।