बर्लिन । जर्मनीमा चान्सलर ओलाफ स्कोल्जविरुद्ध संसद्को तल्लो सदन बुन्डेस्टागमा अविश्वासको प्रस्ताव पारित भएको छ । जर्मनीको सात सय ३३ सिट भएको तल्लो सदनमा अविश्वासको प्रस्तावमा मतदान भएको थियो । जसमा स्कोल्जको विपक्षमा तीन सय ९४ सांसदले मत दिएका थिए भने पक्षमा दुई सय सात सांसदले दिएका थिए । एक सय १६ सांसद अनुपस्थित थिए ।
स्कोल्जलाई बहुमत प्राप्त गर्न तीन सय ६७ सांसदको समर्थन आवश्यक थियो । मतदानको नतिजा आएलगत्तै, चन्सलर स्कोल्जले जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमेयरलाई संसद् भङ्ग गरी नयाँ चुनाव गराउन अपील गरेका थिए ।
संविधानअनुसार अब जर्मनीका राष्ट्रपतिले २१ दिनभित्र संसद्को तल्लो सदन विघटन गरी ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्नेछ । यदि यसो भएमा जर्मनीमा समयभन्दा सात महिना छिटो चुनाव हुनेछ ।
सन् २०२१मा भएको आम चुनावमा स्कोल्जको एसडीपी पार्टीले दुई सय छ सिट, ग्रीन्स पार्टीले एक सय १८ सिट र फ्री डेमोक्र्याटिक पार्टीले ९२ सिट प्राप्त गरेको थियो । त्यसपछि तीन दलले गठबन्धन बनाएर सरकार बनाएका थिए ।
नोभेम्बरमा चन्सलर स्कोल्जले आफ्ना अर्थमन्त्री क्रिस्टियन लिन्डिनरलाई बर्खास्त गरेपछि जर्मनीमा राजनीतिक सङ्कट सुरु भएको थियो । त्यसपछि स्कोल्जको ग्रीन्स पार्टी र क्रिस्चियन लिन्डनरको फ्रि डेमोक्रेटिक पार्टीसँगको तीन वर्ष पुरानो गठबन्धन टुटेको थियो । त्यसपछि सरकार अल्पमतमा थियो ।
वास्तवमा रुस–युक्रेन युद्धका कारण जर्मनीको अर्थतन्त्र तहसनहस भएको छ । अमेरिकापछि जर्मनीले युक्रेनलाई सबैभन्दा बढी आर्थिक सहयोग गरिरहेको छ । जर्मन अर्थतन्त्र ठीक गर्न चान्सलरले वित्तीय संस्थाबाट थप ऋण लिन चाहेको तर अर्थमन्त्रीले विरोध गर्दै आएका थिए । उनीहरुले खर्च कटौती गर्न आग्रह गरेका थिए ।