काठमाडौं ।सहकारी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेजस्तै देखिने व्यक्ति सुतेको अवस्थामा खिचिएको एउटा तस्बिरबारे सामाजिक सञ्जालमा निकै चर्चा भएपछि बीबीसी न्यूज नेपालीले यसबारे विभिन्न पक्षसँग बुझेको छ।
हिरासतभित्रको तस्बिर सार्वजनिक भएको विषयमा अनुसन्धान सुरु गरिएको र त्यसमा संलग्न व्यक्ति जो भए पनि उसलाई कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ताले बताएका छन्।
निकोलस भुसाल नाम गरेका एक व्यक्तिले रवि लामिछानेलाई भेट्न गएको बेला आफूले उक्त तस्बिर खिचेको तर सामाजिक सञ्जालमा त्यसबारे विभिन्न खालका प्रतिक्रिया आएपछि हटाएको दाबी गरेका छन्।
"म शनिवार ४ बजे उहाँलाई भेट्न गएको थिएँ। फर्कने बेलामा बाहिर सीसीटीभीको दृश्य देखिने स्क्रीन रहेछ। त्यहाँबाट फोटो खिचेको थिएँ," भुसालले भने।कास्की प्रहरीका प्रवक्ता वसन्त शर्माले भुसाल शनिवार लामिछानेलाई भेट्न पुगेको पुष्टि गरे। तर उनी भेट्न पुगेको समय भने आफूलाई यकिन नभएको शर्माले बताए।
प्रहरी हिरासतमा सीसीटीभी छ?जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले तस्बिरको वास्तविकताबारे छानबिन गर्न एउटा समिति बनाइएको बताए। उक्त समितिको नेतृत्व प्रहरी नायब उपरीक्षक वसन्त शर्माले गर्दै छन्।
"फोटो स्पष्ट छैन। फुटेजजस्तो देखिन्छ। 'फेक' वा 'ओरिजिनल' के हो भन्ने अनुसन्धानपछि मात्रै थाहा होला," उनले भने।
हिरासत कक्षसँग तस्बिरमा देखिएको विवरण र त्यहाँ राखिएका वस्तुहरू मिल्ने दाबी रास्वपाका कोषाध्यक्ष दीपक बोहराको छ। "यो फोटो सीसीटीभी क्यामराको हो भन्नेमा द्विविधा छैन," लामिछानेलाई बिहीवार पनि भेटेका बोहोराले भने।
प्रहरीले लामिछानेलाई राखिएको हिरासत कक्षमा सीसीटीभी निगरानी रहेको स्वीकार पुष्टि गरेको छ। "हिरासतमा सीसीटीभी क्यामरा छ, किन नहुनु," ओलियाले भने।
तर अहिले चर्चामा रहेको तस्बिर स्पष्ट नभएको भन्दै त्यो हिरासतमा खिचिएको हो कि होइन भनेर किटानी गर्न नसकिने उनको तर्क छ।हिरासतमा सीसीटीभी किनकतिपयले हिरासतमा सीसीटीभी राख्दा "थुनुवा वा बन्दीको गोपनीयता" हनन हुने भन्दै प्रश्न गरेका छन्। हामीले नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीलाई हिरासतमा किन सीसीटीभी राखिएको भनेर सोधेका थियौँ।
"प्रायः हाम्रो हिरासत कक्ष निगरानीमा सीसीटीभी रहन्छ। पछिल्लो समयमा हिरासतमा हुने आत्महत्याको घटना रोक्नका लागि पनि हो," प्रहरी प्रवक्ता अधिकारीले भने।
कास्की प्रहरीको हिरासत निगरानी त्यहाँका ड्यूटी अधिकृत बस्ने स्थानबाट निगरानी हुने भए पनि त्यहाँ कसरी प्रवेश पाएर तस्बिर खिचियो भन्नेबारे अनुसन्धान भइरहेको बताए।"यो अनुसन्धानबाट विस्तृत कुरा खोजेर संलग्न जोकोही भए पनि कारबाही अघि बढाउँछौँ," अधिकारीले भने।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि उक्त तस्बिर बाहिरिएको विषयमा सम्बन्धित प्रहरी अधिकारीमाथि सोधपुछ भइरहेको बताए।लामिछानेको तस्बिरले जन्माएको मानव अधिकारको बहस
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले प्रहरीले नै अरू कसैलाई पठाउन उक्त तस्बिर खिचेको दाबी गरेका छन्।
तर प्रहरी प्रवक्ता अधिकारी प्रारम्भिक विवरणहरूबाट निकोलस भुसालले नै उक्त तस्बिर खिचेको देखिएको र उनीसँग सोधपुछ भइरहेको बताउँछन्।
भुसालले आफूले "खराब नियत राखेर तस्बिर नखिचेको" भन्दै सामाजिक सञ्जालमा माफी मागेका छन्।तर रवि लामिछानेमाथि मुद्दा चलाउने अन्तिम म्याद शुक्रवार सकिनुअघि सार्वजनिक भएको तस्बिरबारे सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी देखिएका छन्।
भूतपूर्व कानुनमन्त्री तथा मानवअधिकारका पक्षमा पैरवी गर्दै आएका वकिल गोविन्द बन्दी (कोइराला) प्रहरी हिरासत कक्षमा नियन्त्रण र निगरानी दुवै हुने भएकाले त्यहाँ सीसीटीभीमार्फत् हुने निगरानीलाई अन्यथा भन्न नसकिने बताउँछन्।
"त्यहाँ सुरक्षाकर्मीले आँखाले निगरानी गर्नु र सीसीटीभीमार्फत् गर्नु एउटै होला। तर त्यहाँका गतिविधि वा तस्बिर सार्वजनिक गर्नु चाहिँ व्यक्तिगत गोपनीयताको उल्लङ्घन हो," बन्दीले बीबीसी न्यूज नेपालीसँग भने।पोखराबाट कृष्णमणि बरालको अतिरिक्त रिपोर्टिङ
(बीबीसी)