काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ऋणपत्रहरुमध्ये वदेशिक रोजगार बचतपत्र पनि एक हो । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउँछन् । यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेस गरेमा समेत खरिद गर्न सकिन्छ ।
तर वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताको चासो न्यून देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगार बचतपत्र निकै कम बिक्री हुने गरेको बताएको छ । वैदेशिक रोजगार बचतपत्रमा अन्यमा भन्दा बढी ब्याज पाइने भए पनि निकै कम आवेदन पर्ने गरेको छ । कार्यालयका अनुसार गत मंसिर १२ गते निष्काशन गरेको ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रमा अहिलेसम्म जम्मा ८५ लाख रुपैयाँको मात्रै आवेदन परेको छ ।
जब कि गत मंसिर १२ गते जारी गरेको दुई अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) मा एक अर्ब ९० लाख रुपैयाँ हाराहारी खरिदका लागि आवेदन परेको छ ।
नागरिक बचतपत्रको उच्च माग देखिए पनि त्यसभन्दा बढी ब्याज पाइने वैदेशिक रोजगार बचतपत्र भने निकै कममात्र बिक्री भएको छ । ‘वैदेशिक रोजगार बचतपत्रमा करिब रू ८५ लाखको मात्रै आवेदन परेको छ । नागरिकमा वित्तीय साक्षरता र पहुँच कमजोर भएर बचतपत्र बारे जानकारी नहुँदा न्यून बिक्रीको अवस्था आएको हुनसक्छ’, कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलले बताए ।
कार्यालयले गत मंसिर १२ गतेबाट दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र–२०८६ (क) र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको थियो । यी दुवै पाँच वर्ष अवधिका बचतपत्र हुन् । नागरिक बचतपत्रभन्दा वैदेशिक रोजगार बचतपत्रको ब्याज बढी छ । नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ ।
पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने कार्यालयले जनाएको छ । घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्कमा बचतपत्र खरिद गर्न सकिन्छ । यी दुवै बचतपत्रको बिक्री यही पुस १४ गतेसम्म खुला छ ।
यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा निकै आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिनेगरेका छन् । जब कि लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता, र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।
बचतपत्र पूर्णरूपमा सुरक्षित लगानी हो । किनकि, यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ । साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला बेच्न चाहेको बखत बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ । बचतपत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ । अर्थात् आफूले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ ।
नेपालमा वित्तीय साक्षरताको कमी नै बचतपत्रप्रति कम आकर्षण हुनुको मुख्य कारण हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमको प्रयोगबारे प्रस्ट जानकारी छैन । आम नागरिकले आफ्नो बचतलाई सुरक्षितरूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन् । रासस