काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव दिएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरूलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरणमार्फत आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको हो ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कूटनीति महत्वपूर्ण भएको बताए । ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ’, उनले भने, ‘नेपालले भर्खरै अन्तर्राष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्री रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माइनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ ।’ नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरू समक्ष अध्यक्ष अग्रवालले आग्रह गरे ।
नेपालमा लगानीको प्रतिफल सुनिश्चितता गर्नका लागि सम्बन्धित निकायमा चेम्बरले सधैँ पहल गरिरहेको पनि उनले जानकारी गराए । यस्तै, नेपाल झल्काउने व्यापार प्रदर्शनी गर्न एवं लगानीयोग्य क्षेत्रहरूको पहिचान गर्नुपर्नेमा उनले जोड दिए । सम्बन्धित देशसँग बीटुबी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि दुई पक्षीय सम्झौताका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले आग्रह गरे । नेपालको जलविद्युत्, पर्यटन, खानीजस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उनको भनाइ छ । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपालको आईटी र जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा विभिन्न देशका राजदूतहरूले आफूले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए । आर्थिक कूटनीति आफूहरूको प्राथमिकतामा रहेको राजदूतहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, यस्तै पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालका उपस्थिति रहेको थियो ।