काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा काठमाडौं र मधेश प्रदेश जनकपुरधाममा क्रमस मंसिर १८ देखि २४ र २७ देखि पुष ३ गतेसम्म सप्ताहव्यापी फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
एसियाली विकास बैंक र फोटो पत्रकार क्लब, नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहल र जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंसिर २७ देखि पुष ३ गते सम्म चलेको थियो ।
प्रदर्शनीको अन्तिम दिन अवलोकन गर्न मधेश प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव पुगेका थिए । अवलोकनपछि बोल्दै मन्त्री यादवले फोटो प्रदर्शनी राम्रो र सन्देशमूलक रहेको बताए । एडीबीले नेपाल सरकारसँगको सहकार्यमा विद्युत् विकासमा गरेको कार्यहरू र त्यसबाट आमनेपालीको आर्थिक र सामाजिक परिवर्तनमा पारेको प्रभावका बारेमा यथार्थ चित्रण प्रदर्शनीले देखाउन सकेको बताए । मधेश प्रदेशको विकासमा एडीबीको सहयोगमा धेरै परियोजनाहरू सञ्चालनमा रहेको र आगामी दिनमा सोलार इनर्जीको विकास र विस्तारमा सहकार्य गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालय इच्छुक रहेको मन्त्री यादवले बताए ।
काठमाडौं र जनकपुरमा भएको प्रदर्शनीले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एसियाली विकास बैंक (एडीबी)को योगदानलाई प्रत्यक्षरूपमा केन्द्र र प्रदेशका सरकारको जिम्मेवारी बहन गरेका उच्च पदस्थ, निजी क्षेत्रका उद्यमीदेखि आम सर्वसाधारणसम्मले जानकारी पाउन मद्दत पुगेको फोटो पत्रकार क्लबका अध्यक्ष काफ्लेले बताए । फोटो प्रदर्शनीमा नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भए गरेका कार्य र विकासहरूलाई दृश्यमार्फत आमनेपाली माझ पु¥याउन सफल भएको काफ्लेको भनाइ थियो । फोटो प्रदर्शनीमा उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी चार भागमा विभाजन गरिएको थियो ।