मस्को । रुसले क्यान्सरको खोप बनाएको छ । रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार क्यान्सरको खोप बनाउन सफल भएको दाबी गरेको छ । यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले दिएका हुन् । रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निःशुल्क दिइनेछ ।
निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै एम आरएनए खोप विकास गरेको बताएका छन् । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले ट्युमरको वृद्धि रोक्न मद्दत गर्ने देखाएको छ ।
यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउनको नजिक पुगेको बताएका थिए ।
यदि कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ तब एम आरएने प्रविधिले कोसिकाहरुलाई त्यो भाइरस वा ब्याक्टोरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ । त्यसपछि शरीरमा एन्टिबढीहरु बन्छन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यही प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो ।