लन्डन, असार ३०
पेयपदार्थ ‘जोनी वाकर’ ह्विस्की अब कागजी बोटलमा उपलब्ध हुने भएको छ । १ सय ५० वर्ष लामो इतिहास बोकेको डियागोले अब जोनी वाकर कागजी बोटलमा बिक्री गर्ने जनाएको हो । ह्विस्की आगामी वर्षदेखि नयाँ प्याकेजिङसाथ आउने कम्पनीले जानकारी दिएको छ । पेयपदार्थलाई अझ सहुलियत हुने गरी पूर्ण प्लाष्टिकमुक्त बोटलमा बिक्री गरिनेछ । कम्पनीले ‘पल्पेक्स’ फर्म खडा गरेर यसमा काम गर्नेछ । पल्पेक्सले युनिलिभर र पेप्सिकोका लागि पनि कागजी बोटल बनाउँछ । डियागोको कागजी बोटल सन् २०२१ मा परीक्षण प्रयोग गरिनेछ । उक्त बोटल पुनप्रयोग गर्न मिल्ने बनाइनेछ ।
रक्सी कम्पनीहरुले वातावरणमैत्री हुन अहिले प्लाष्टिकमुक्त प्योकिजिङलाई जोड दिन थालेका छन् । अर्को चर्चित कम्पनी काल्र्सबर्गले पनि बियरको कागजी बोटल बनाउनलागेको छ । बेलायती वाइन कम्पनी फ्रुजेलप्याकले पनि यो विधि अपनाइरहेको छ । तर कोका–कोलाले भने ग्राहकले रुचाइरहेकोले एकपटक प्रयोगका लागि प्लाष्टिक बोटललाई नै निरन्तरता दिने बताएको छ । डियागोले व्यवस्थापन कम्पनी पाइलट लिटसँग मिलेर पल्पेक्स फर्म खडा गर्नेछ । युनिलिभर र पेप्सिकोले पनि आफ्नै ब्रान्डको पल्पेक्स बोटल सन् २०२१ मा निर्माण गर्नेछन् ।
प्लाष्टिकको बढ्दो प्रयोगले वातावरण प्रदूषित भएको भन्दै कम्पनीहरुमाथि दबाब बढिरहेको छ । सन् २०१८ मा प्याकेज खाना र पेय पदार्थमा ८२ लाख टन प्लाष्टिक प्रयोग भएको आईएलजी एनालिष्टले जनाएको छ । डियागोले भने आफूले कुल प्याकेजिङमा केवल ५ प्रतिशत प्लाष्टिक प्रयोग गर्ने गरेको जनाएको छ ।