काठमाडौं।काठमाडौंको ठमेलस्थित छायादेवी कम्प्लेक्स विवादसम्बन्धी मुद्दा तिन जना न्यायाधीशको टेवलमा पुगेको छ । उक्त मुद्दा अब तिनजना न्यायाधीशहरुले हेरेर फैसला गर्नेछन् ।
सर्वोच्चले उक्त छायादेवी कम्प्लेक्स बनेको जग्गा सार्वजनिक हो वा होइन भन्ने विषयमा अदालतमा मुद्दा परेर विभिन्न अदालती चरण पार गर्दै अन्तिम निर्णयका लागि आज पेशी तोकेको थियो ।
सार्वजनिक जग्गा मासेर छायादेवी कम्प्लेक्स बनाएको भन्दै परेको १५ थान मुद्दाको सुनुवाइ सकिएपछि सर्वोच्चले निर्णय सुनाउनका लागि भनेर आज पुस ४ गतको लागि पेशी तोकेको हो । झण्डै ९ वर्षदेखि सर्वोच्च अदालतमा उक्त जग्गा विवादको मुद्दा चलिरहेको छ ।
बैंकर पृथ्वीबहादुर पाँडेले ठमेल भगवानबहालअगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाँडेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग राखी २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायतकाले दर्ता गरेको १५ वटा मुद्दा सर्वोच्चमा छ ।