काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको ग्रान्ड फिनाले आज शुक्रबार हुने भएको छ । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एसोसिएसन विथ नेपालपे क्युआर, जेनस एन्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ ।
आईसीटी अवार्ड कार्यक्रम विगत छ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरू सम्पन्न गर्दै ग्रान्ड फिनालेसम्म आइपुगेको हो । आयोजकका अनुसार फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ । यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सियल स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरूलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिने छ ।
आईसीटी अवार्डको ग्रान्ड फिनालेमा मन्त्री, सांसद, उद्यमी, प्रोफेसनललगायत स्वदेश तथा विदेशबाट करिब एक हजार विशिष्ट व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ । नवौँ संस्करणको आईसीटी अवार्डको छनौटको लागि १४ जना स्वदेशी र तीन जना विदेशी विज्ञ जुरी समिति र १२ जनाको सल्लाहकार समिति गठन गरिएको थियो । यस वर्ष विभिन्न १४ विधा र रिकग्निसनमा खुला गरिएको अनलाइन नोमिनेसनमा आठ सय बढीको आवेदन प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ । अवार्ड वितरण हुने विधाहरूमा क्याटोगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन रहेका छन् ।
व्यक्तिगत अवार्ड विधाहरूमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यस्तै, संस्थागत र कर्पोरेट अवार्ड विधाहरूमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् । क्याटोगोरी डीअन्तर्गत साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड रहेको छ ।