कास्की । पोखरामा हतियार देखाएर सुनका गहना लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ३१, बेगनास गैह्राघरका ७९ वर्षीय वेदुराम अधिकारीको घरमा गत २३ मंसिरमा मध्यरातमा उक्त लुटपाट भएको थियो ।
वेदुरामकी श्रीमतीलाई तीन जना नकावधारी मानिसहरुले खुकुरी देखाएर कुटपिट तथा लछारपछार गरी उनले लगाएको सुनका गरगहना औठी एक र कानमा लगाएको २ वटा रिङ चोरी गरी फरार भएका थिए । यसैक्रममा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजतलास गरिरहँदा करिब १० दिनपछि पक्राउ गर्न सफल भएका छन्
सो कार्यमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले बागलुङ बाङगादोभान ३, तमान घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने ३८ वर्षीय प्रकाश थापा, तनहुँको रिसिङ २ घर भइ हाल पोखरा रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंह थापामगर र रोल्पाको थवाङ घर भइ हाल पोखराको मालेपाटन निवासी ३२ वर्षीय गोपाल नेपालीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी कास्की जिल्ला अदालतबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।