तम्घास । गाउँपालिका अध्यक्षले कार्यालयले विकट गाउँबाट आएका सेवाग्राहीलाई तिन दिनसम्म झुलाएर दुख दिने गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहज रूपमा सेवा नपाएको भन्दै कार्यालयको सामान तोडफोड गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले कालीगण्डकी गाउँपालिकाबाट आएका सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाएको भन्दै राहदानी फाँटको स्क्यानर नै फुटाइदिएको जानकारी दिए ।
राहदानी फाँटको सेवा स्क्यानर फुटेपछि सबै ठप्प भएको उनको भनाइ छ । विभागबाट स्क्यानर मगाएकाले आएपछि मात्रै सेवा सुचारु हुने गैरेले बताए । सदरमुकामबाट विकट रहेको कालीगण्डकी गाउँपालिकाबाट सेवा लिन प्रशासन आउँदा दिउँसोको दुई बज्ने भएकाले विकटलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ ।
नेपाली काँग्रेस जिल्ला सचिव तथा कालीगण्डकी १ हर्मिचौरका स्थानीय जगदीश भट्टराईले जिल्ला प्रशासन कार्यालयले विकटलाई हेर्ने दृष्टि नै फरक भएको गुनासो गरे । विकटका नागरिकलाई नागरिक जस्तो व्यवहार नगरी हेपाहा व्यवहार गर्ने गरेको उनले आरोप लगाए ।
सेवाग्राहीको भीड भएकाले राहदानीका लागि एक दिन अगावै टोकन वितरण गरी सेवा प्रवाह गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय सरकार र सङ्घीय सरकारका रूपमा समन्वयको अभावको कारण समस्या भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा थप सुधार गर्नु आवश्यक भएको उनको भनाइ छ । समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोडमै जानु गलत भएको उनले बताए ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्क्यानर फुटाउने अध्यक्षलाई नियन्त्रणमा लिई क्षतिपूर्तिसहित राजनीतिकदलहरुको रोहवरमा लिखत रूपमै माफ मागेर छाडिएको जानकारी दिए ।