काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिदाइ भेट गरेका छन् ।
सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिए । भेटमा दुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गरे । सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागी थियो ।