काठमाडौं । अर्थतन्त्रका बाह्य र केही आन्तरिक सूचकहरू ठीकठाक देखिए पनि घरजग्गा कारोबार सुस्त देखिन्छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार आजभन्दा तीन वर्षअघि मासिक ६५ देखि ७० हजारको संख्यामा घरजग्गा कारोबार भएकोमा अहिले ३० देखि ४० हजारको संख्यामा मात्रै हुनेगरेको छ । २०८१ मंसिरमा घरजग्गा कारोबार करिब ४३ हजारको संख्यामा भएको छ ।
साना घरघडेरीबाहेक ठूला घडेरी र अपार्टमेन्टहरूको किनबेच निकै घटेको छ । बैंकहरूले धितो सकारेर गैरबैंकिङ सम्पत्तिको रूपमा राखेको जग्गाजमिन पनि लिलामबिक्री हुन सकेको छैन । त्यसैले घरजग्गामा जाने कर्जा पनि घट्दै गएको तथ्याङ्कमा देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिकरूपमा हुने घरजग्गा कारोबारमा अहिलेसम्म करिब साढे दुई खर्ब रुपैयाँभन्दा केही बढी कर्जा दिएको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत कात्तिक मसान्तसम्म बैंकहरूले व्यावसायिकरूपमा हुने घरजग्गा कारोबार (रियलस्टेट क्षेत्र)मा दुई खर्ब ६८ अर्ब ६४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । गत वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले रियलस्टेटमा दुई खर्ब ४४ अर्ब ७५ करोड ७० लाख रुपैयाँ ऋण प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले गत कात्तिकसम्म रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब २५ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत वर्षको सोही अवधिमा दुई खर्ब ११ अर्ब ८९ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका थिए । विकास बैंकहरूले रियलस्टेट क्षेत्रमा गत कात्तिक मसान्तसम्म ३२ अर्ब दुई करोड ५० लाख रुपैैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब २७ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले गत कात्तिक मसान्तसम्म रियलस्टेट क्षेत्रमा १० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष कात्तिकसम्म नौ अर्ब ५८ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका थिए ।