दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ को टासीनाम हुँदै सोलुखुम्बुको नाम्चे बजार जोड्नको लागि पदमार्ग निर्माण सुरु गरिएको छ । संघीय सरकारको दुई करोड आठ लाख रुपैयाँको लगानीमा सो पदमार्ग निर्माण थालिएको हो ।
स्थानीयको ओहोरदोहोर र आन्तरिक तथा बाह्य पर्यटकहरूको सहजताको लागि ठेक्कामार्फत पैदलमार्ग निर्माणलाई तीव्रता दिएको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार गौरीशंकरको अधिकांश भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्छ । यस गाउँपालिकाको पूर्वी सिमाना रहेकोे सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउँपालिका हुँदै सगरमाथा प्रवेश गर्ने पर्यटकहरूका लागि लक्षित गरी पदमार्ग निर्माण थालिएको हो । संघीय सरकार पर्यटन मन्त्रालयअन्तर्गत गौरीशंकर–९ को टासिनाम दाल्दुङ रोल्वालिङ छो–रोल्पा हुँदै टासिलाप्चा पास मार्गअन्तर्गत छ किलोमिटर ढुङ्गा बिछ्याइएको सेडिसहितको पैदलमार्ग निर्माण गर्ने काम धमाधम भइरहेको वडाध्यक्ष शेर्पाले बताए ।
पछिल्लो समय यहीँ रुट हुँदै सगरमाथा छिर्ने पर्यटन वृद्धि हुँदै गएकाले पर्यटकहरूको सजिलो रुट र आकर्षकको गन्तव्यको रूपमा विकास गर्न पैदलमार्ग निर्माणलाई प्राथमिकता दिईएको हो । पैदलमार्ग निर्माणको जिम्मा सतली एडी दाल्दुङले पाएको छ । टासिनामबाट सुरु गरिएको उक्त पैदलमार्गलाई सोलुखुम्बु जिल्लाको मुख्य व्यापारी केन्द्र नाम्चे बजारसम्म जोड्न सके यहीँ रुट हुँदै एभरेस्ट ओहोरदोहोर गर्ने हिमाल आरोही बढ्ने सम्भावना रहेकोे वडाध्यक्ष शेर्पाले बताए । गौरीशंकरको टासिनामदेखि सगरमाथा पुग्न अहिले कम्तीमा सातदेखि नौ दिन लाग्ने गर्छ । यही रुट हुँदै सगरमाथामा जाने पर्यटक वृद्धि हुँदै गएका छ । अर्को रुट बन्द हुँदा धेरैले यही रुट हुँदै सगरमाथामा जाने गरेका छन् । वडाध्यक्ष शेर्पा भन्छन् ‘यस वर्ष टासिनाम हुँदै छ किलोमिटर पैदलमार्ग निर्माण सम्पन्न गरिने छ । त्यसपछि अर्को वर्ष पैदलमार्गलाई सोलुखुम्बुको नाम्चेसम्म विकास गर्दै लैजाने योजना बनाएका छौँ ।’