काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने एक सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्काशनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दिपकराज जोशीको समेत उपस्थिति रहेको थियो ।
शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेड, शिवशंकर इन्भेस्टमेन्ट प्रालि र जय गणेश इन्भेस्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेस्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत्, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८ दशमलव ४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५ दशमलव ३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१० दशमलव सात मेगावाट) र भिजन इनर्जी एन्ड पावर लिमिटेड (५७ दशमलव पाँच मेगावाट) नामक जलविद्युत् कम्पनीमा लगानी गरेको छ । उल्लिखित कम्पनीमध्ये पहिलो तीन कम्पनी सञ्चालनमा आइसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको छ । शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशनपश्चात उक्त कम्पनीको चुक्तापुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ ।