काठमाडौं, असार ३१
विगतजस्तै चालू आर्थिक वर्ष २०७६/०७७ को अन्तिमतिर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ध्यान विकासे काम गर्ने सरकारी कार्यालयहरुतर्फ केन्द्रित गरेको छ । विकासे कार्यालयहरुले सेवाग्राहीसँग घुस लिने आशंकामा अख्तियारले देशभरकै सरकारी कार्यालयमा निगरानी बढाएको हो । अख्तियार स्रोतका अनुसार घुस लेनदेन हुने आशंका गर्दै कतिपय ठाउँबारे उजुरी परेका छन् भने कतिपय घुस दिने व्यक्तिहरुले नै अख्तियारलाई खबर गरेका छन् । अख्तियारले चालू आर्थिक वर्षको बजेट खर्चको विषयमा असार अन्तिम सातादेखि साउनको दोस्रो सातासम्म धेरै कर्मचारी घुस रकमसहित रंगेहात पक्राउ पर्ने आशंका गरेको छ ।
अख्तियारले मंगलबार मात्रै चार जना कर्मचारीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ भने २३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विकासे काम हुने कार्यालयहरुमा ठूलो रकम घुसमा लेनदेन हुने भएपछि निगरानी बढाइएको अख्तियारका एक अधिकारीले जानकारी दिए । ‘राजीखुसी रकम दिए पनि त्यो घुस नै हो’, अख्तियारका ती अधिकारीले आर्थिक दैनिकसित भने, ‘कतिपय ठाउँमा कर्मचारीहरुले जबर्जस्ती रकम मागेका छन् भने कतिपय ठाउँमा राजीखुसी पनि काम गरिदिएबापत रकम पाएका छन् । विगतभन्दा यसपटक धेरै ठाउँमा निगरानी बढाएका छौँ । यसरी सक्रिय हुँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने अनुमान छ ।’
अख्तियारले तल्लो तहका कर्मचारीलाई पक्राउ गरे पनि अधिकांशले त्यसरी जम्मा गरेको रकम माथिल्लो तहसम्म बाँडचुँड गर्ने गरेका छन् । अख्तियारले मंगलबार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई नौ लाख ३४ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । श्रेष्ठले निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस लिएको दाबी अख्तियारको छ । काठमाडौं टंगालबाट गएको टोलीले श्रेष्ठलाई उक्त रकमसहित पक्राउ गरेको हो । घुस दिने व्यक्तिले नै अख्तियारलाई खबर गरेको कारण उनी पक्राउ परेका हुन् । उनलाई रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पको निवासबाटै अख्तियारले पक्राउ गरेको हो ।
यस्तै, अख्तियारले मंगलबार नै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका अधिकृत हुकुम बहादुर ओलीलाई ९६ हजार तीन सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । उनले ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भनी घुस मागेको दाबी अख्तियारले गरेको छ । उनलाई पक्राउ गर्न पनि अनुमतिपत्र लिन चाहने व्यक्तिले नै अख्तियारलाई खबर गरेको थियो । अख्तियारको बुटवलको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्ण वल्लभ ठाकुरलाई १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको बताइएको छ । इटहरीबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै रकमसहित पक्राउ गरेको हो । रकम दिनेले नै ठाकुरलाई पक्राउ गर्न अख्तियारलाई सूचना दिएका थिए ।
यस्तै, अख्तियारले कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी नायब सुब्बा सिद्धराज जोशीलाई ८५ हजार घुस रकमसहित मंगलबार नै पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट आएको अख्तियारको टोलीले पक्राउ गरेको हो । सिलाइकटाइ तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरु दिई तालिम सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसकेपछि सेवाग्राहीसँग घुस लिएको आरोप अख्तियारको छ । उनी घुस रकम लिएर भागेका थिए ।
मंगलबार नै अख्तियारले भ्रष्टाचार गरेको आयोगमा विभिन्न क्षेत्रमा काम गरिसकेका सरकारी कर्मचारहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले कपिलवस्तु जिल्लाको साबिक तितिर्खि गाउँ विकास समितिस्थित जमुवार नदीमा पुल निर्माण गर्दा तितिर्खि गाविस र जिल्ला विकास समितिबाट दोहोरो भुक्तानी लिएको भन्ने उजुरीको आधारमा तत्कालीन गाविस सचिव मुहानन्द खनाल र जिविसका सहलेखापाल गोले अलि धुनिया, उपभोक्ता समिति अध्यक्ष अजिजुर्रहमान मुसलमान तथा सचिव पुनवासी कुर्मीविरुद्ध विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी, सबइन्जिनियर रामकान्त चौधरीले मिलेमतोमा निर्माणकार्यको ठेक्का लगाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादव र भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीउपर भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंहलाई चार हजार रुपैयाँ घुसलिएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी गर्ने खेमराज सापकोटा र नासु लक्ष्मण रायमाझीलाई घुस लिएको विषयमा अनुसन्धान गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेश बहादुर सिंहलाई नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रह सच्याई ढाँटी झूठा विवरण उल्लेख गरेर जागिर खाएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । यसैगरी, बर्दियाको बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव मन प्रसाद रेग्मीलाई चार करोड ५४ लाख ३३ हजार छ सय ९८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कर्मचारीहरुले घुस लिएको भन्दै मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारी, शाखा अधिकृत रघुवंश कँडेल, नासु नवराज घिमिरे, गोपाल खड्का, उद्धव प्रसाद सापकोटा, नारायण प्रसाद पोखरेल र खरिदार दिपक खड्कालाई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । यस्तै, मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु चन्द्रबहादुर श्रेष्ठविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।