काठमाडौं, असार ३१
नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनले व्यवसायी क्षेत्रमा हलचल ल्याएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले मंगलबार उम्मेदवारी घोषणा गरेसँगै महासंघमा हलचल सुरु भएको हो । ढकालले आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष नै महासंघका अर्को कार्यकालको अध्यक्ष हुने व्यवस्था छ । सोही कारण महासंघको वरिष्ठ उपाध्यक्षको चुनावलाई विशेष रुपमा लिइन्छ ।
ढकाल समूहमा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उनी हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष छन् । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ । त्यस्तै एसोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईलाई उम्मेदवार बनाइने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
आगामी साउन २६ र २७ गते महासङ्घको अधिवेशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष ढकालले कोरोनाका सिर्जना भएका स्वास्थ्य र आर्थिक चुनौतीलाई सामान गरेर अगाडि बढ्नुपर्ने र त्यसका लागि सरकार र निजी क्षेत्रको बीचमा साझा प्रयास हुनुपर्ने बताए । आर्थिक चुनौती संसारभरका सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेको उल्लेख गर्दै उनले व्यक्तिगत पहलले मात्रै कुनै पनि काम अगाडि नबढ्ने दाबी गरे । महासङ्घमा आउने नयाँ नेतृत्वका रूपमा आउन आफ्नो समूहले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त नगरी मुलुकले खोजेको आर्थिक रूपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्ने ढकालको दाबी छ ।